May 27, 2009

नेपालमा घूस सस्तिएकै हो त ?

(परिहास)
पाँच रुपैयाँ घूस विवादले कार्यालय बन्द
शंकर आचार्य
पर्सा, कर्मचारी र लेखापढी व्यवसायीबीचको पाँच रुपैयाँ घूस लेनदेन विवादका कारण सोमबार बन्द मालपोत र नापी कार्यालय मंगलबार खुलेको छ ।
आइतबार नापी कार्यालयमा लेखापढी गर्ने पृथ्वी चन्द्र चौरसियाले नगदी रसिद कटाउँदा पियन छठु प्रसादले पाँच रुपैयाँ कमिसन मागेको आरोप लगाएका थिए ।

http://ekantipur.com/kolnepalinews.php?&nid=196264
साभार: कान्तिपुर, २७ मे
आजको कान्तिपुर र अरू पनि वेब पत्रिकाहरूमा माथिको समाचार छापिएको पाइयो। धेरै पहिला सुनेको थिएँ, नेपालगञ्जपारि नेपाल-भारत सीमामा पर्ने रुपैडिया नाकाको भारतीय पुलिसले सीमा वारिपारि गर्नेहरू संग निकै महंगो रकम घूस माग्न शुरू गर्छ रे । अनि दोहोरो बार्गेन हुँदै गएपछि भने यो प्रकरण ' अरे भाइ एक अठन्नी तो दो' भन्नेमा टुंगिने गर्छ रे भनेर मेरा एकजना दाङका मित्र मधुसूदनजीले सुनाउनुहुन्थ्यो। यो घूसको माग अठन्नीले पनि छिनेन भने एउटा बिँडिको खिल्लीमा भए पनि टुंगिने सम्भावना हुन्छ रे ।

कान्तिपुरमा पढेको माथिको समाचार पढेपछि एक किसिमको खुशी पनि लाग्यो । कुरा के भने, नेपालमा सबै कुराको मूल्य वृद्दि भएकै छ आकाशिँदो गतिमा तर घूसखोरी सस्तो भएछ कि भन्ने संकेत भने यो समाचारले दिन्छ । अहिलेको नेपालमा ५ रुपैयाँले एक कप चिया पनि आउँदैन , तर कर्मचारीले सेवाग्राही संग यति सस्तो रकमको घूस मागेर कुन किसिमको उदारता देखाउन खोजे बुझिनसक्नु पहेली बनेको छ । यति सुक्ष्म रकमको घूस माग्दा पनि कुटाकुट र मारामारमा घटना अघि बढेको र पछि गएर सिडियो साहेबले नै मेलमिलापबाट कुरा समाधान गराउन सल्लाह दिने स्थिति पैदा भएको कुराले गणतान्त्रिक नेपालमा भ्रष्टाचार र घूसखोरी निमिट्यान्न नभए पनि , आकार प्रकारमा घट्दै छ कि भन्ने विशेषज्ञहरूको अनुमानलाई सकारात्मक पुट प्रदान गर्न यो घटनाले मद्दत गर्ने नै छ भन्ने आशा गर्न सकिन्छ ।

संयोग के कुरा हो , यो सकारात्मक घटना नया प्रधानमन्त्री माधव नेपालजीले शपथ लिँदा कै दिनमा घटेको हुनाले हामीले यसमा एमालेको योगदानको चमत्कार पनि देख्न सक्छौँ । अथवा हुनसक्छ, भर्खरै सत्ताबाट जबरजस्त बहिर्गमनमा परेका माओवादी नेता प्रचण्डले नौ महिनासम्म गर्नु भएको क्रान्तिकारी कामको असर पर्न लागेर पनि यो घटना घटेको वा नेपाली घूसको रकम यति बिघ्न दुब्लाएको पो हो कि ! या त आजीवन कुर्सी छोड्न नचाहने गिरिजा बाबुले उपलव्ध भएको प्रधानमन्त्रीको खाली कुर्ची बिना आशक्ति छाडेको उदार उदाहरणको नेपाली जनमानसमा परेको सकारात्मक प्रभावले गर्दा , घूसखोरीको रकममा समेत यत्रो विधि कायापलटको अवमूल्यन भएको हो कि ! जे होस् , यसको जस सबै मुख्य पार्टीले मिलेर भागबण्डा गर्दा पनि हाम्रो आपत्ति केही छैन । राम्रो कुरा जसले गरे पनि हामी जनतालाई हर्ष छ ।

जे होस् कमसेकम एउटा प्रसंग हामीलाई प्राप्त भएको छ जहाँ हामीले गर्व गर्न सक्छौँ हामी नेपालीलाई पछौटेपनको रसातलमा धकेल्ने घूसखोरी प्रथा कहीँ न कहीँ बेइज्जती र अवमूल्यनको शिकार बनेको छ । आज पाँच रुपैयाँमा झरेको घूसको स्तर भोलि पचास पैसा, पाँच पैसा हुँदै केही महिनामा दृष्टिगोचर नै नहुने प्रकारले अलप हुन सक्छ । यसो भयो भने नेपालको इतिहासमा सबैभन्दा ठूलो चमत्कारयुक्त क्रान्ति सम्पन्न भएको हुनेछ । त्यतिबेला हामीले अग्रगमनको निकै ठूलो फड्को मार्ने साहस प्राप्त गरेका हुनेछौँ । आशा गरौँ, यसै गरी नेपालमा घूस् दुब्लाओस् र सुशासन मौलाओस् !

( के लेख्यो भन्ठानेर उदेक नमान्नु होला, सँधै कति फजूलको राजनीति र मुलुकको नराम्रो गाथा गाइरहनु भनेर व्यंग्य विनोद मात्र गरेको । )


3 Comments:

Biplab said...

Take it as a good news or bad news. I still think that is bribe. It should be less than zero not more. Thats why we have paid tax to the government.

nepalean said...

रुपेडियाको कथा होइन म त ब्यथामै परेको छु। भारत देश कस्तो,नेपालमा पाइने कती इलेक्ट्रोनिक्स सामान त भारत लान पनि पाइदोरहेनछ। कक्षा १२ मा हुंदा घुम्न गाको ३० जना मानिसको १२ वटा क्यमरा धेरै भयो भनेर लानै दिदैन।
टुरको पर्मिट देखाको नक्कली पो भन्छ। हैन सक्कली हो जान दिउं भनेको २००० माग्यो। अब घुम्न गाको स्कुलबाट स्कुलले कताबाट २००० दिने? सक्दैनौं भनेर दु:ख बिसाएको ल ५०० देउ पो भन्छ। त्यो पनि त कताबाट दिनु? सरकारी स्कुल हो सक्दैनौ दिन भनेको लास्टमा २० रुपया लिएर छोड्यो।
फर्कने बेलामा त्यस्तै। राती १० जस्तो बज्यो। गेट बन्द भयो पो भन्छ। अब भोकै कता जानु? फेरी नेपाल छिर्न पनि पैसाकै सास्ती। कसरी कसरी लास्टमा जान दियो। धन्नका छन भारतिय प्रहरी।

पीजी said...

सस्तिएको भनूं कि सर्वव्यापी भएको भनौं ! उही भारतमा बाटो हिड्ने संग पनि विना कारण मागे जस्तै रसिद काट्नेले पनि मागे पछि त! तर चाह्यो भने र लाग्यो भने नेपालमा घुस कन्ट्रोल गर्न गार्हो छैन ।

मेरो मोटर साइकलको नविकरण दस्तुर तिर्न जांदा वातावरण प्रदुषण जांच शुल्क वापत २५ रुपिया मागियो र रसिद पनि २५ कै जस्तो तर १५ जस्तो पनि देखिने गरी लेखिएको थियो । अर्थात तिर्नेले २५ तिर्ने, २५ देख्ने, अनि सरकारले १५ पाउने र महालेखाले पनि १५ देख्ने, अजिभ तरीका लागेको थियो त्यो ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !