April 27, 2009

त्रिभुवन विश्व विद्यालयका अन्तर्गतका विद्यार्थिहरुकालागि बाल्टिन उपहार

त्रिभुवन विश्वविद्यालयमा केहि दिन अगाडि भएको घटनाले आंफु पनि कुनै बेला त्यहि विश्वविद्यालयको विद्यार्थि भएको नाताले ध्यान तानिनु स्वभाविकै हो । त्यसै सन्दर्भमा देशको घृणीत राजनीतिक दलदल र परंपरा देशको भविष्य कोर्ने विश्व विद्यालय जस्तो पवित्र संस्थामा समेत मौलाउन गएकोले नेपाललाई माया गर्ने साथिहरुसंग कमसेकम देशको भविष्य कोर्ने विश्व विद्यालय देश बर्बाद गर्ने साधन र स्थल नबनोस भन्ने मनासयले केहि अनुरोध गर्ने जमर्को गरेको छु ।

त्रिभुवन विश्व विद्यालय मध्यम वर्गीय र सो भन्दा तल्लो स्तरका विद्यार्थिहरुलाई शैक्षिक प्रमाणपत्र मात्र बाड्ने थलो मात्र नभएर विदेशी विश्व विद्यालय र अनुसन्धान संस्थाहरुले पत्याउन योग्य जनशक्ति पनि बनाउन सकेको तथ्यका भुक्तभोगी कोरिया, जापान देखि युरोप, अमेरिकाका संस्थाहरुमा काम गर्ने वा अध्ययन गर्ने हामीहरु नै साक्षी छौं । वार्षिक बिसौं लाख खर्चेर योग्य बनेका समृद्द देशका नागरिकहरुसंग त्रिभुवन विश्वविद्यालयले हामीलाई मासिक चार पांच सय रुपिया कोठा भाडा र पचास-साठी रुपियां शुल्क तिरेको भरमा नै प्रतिस्पर्धा गर्न योग्य बनाएको हामिले बिर्सन सक्दैनौं । नया समय र आधुनिक युग संगै समय सापेक्ष रुपमा प्रतिस्पर्धी बन्दै जाओस भन्ने हाम्रो कामना पुरा हुन नसके पनि कम से कम प्राज्ञिक थलोमा प्राज्ञिक वातावरण कायम होस र दुख गरेर देशका कुना काप्चाबाट आएका भावी जेहन्दार प्रतिभाहरुले स्वच्छ वातावरणमा शिक्षा हासिल गर्न पाउने वातावरण बनोस भन्नका लागि हामी जस्ता विदेशका विश्व विद्यालय र अनुसन्धान संस्थाहरुमा पाइला टेकेका देशलाई माया गर्नेहरुले केही पाइला चाल्नै पर्छ ।

फलानाले गर्न दिएन भनेर र कालो मोसो दल्दै हिडेर देश बन्ने भए समृद्द मुलुकहरुका विद्यार्थिहरु कलम र ल्यापटप हैन बाल्टीमा कालो मोसो बोकेर कलेज र युनिभर्सिटि जान्थे होलान तर ८-१० वटा देशको दर्शन गर्दा पनि नेपालमा बाहेक देशलाई समृद्ध बनाउन कलेज र युनिभर्सिटिमा "कालोमोसो"को प्रयोग अरु देशमा देख्न पाइएको छैन । विदेश बसाइको ५-६ वर्षमा पनि युरोप अमेरिकाका कुनै विश्व विद्यालयहरुमा बाल्टीमा रंग बोकेर प्राध्यापकहरुलाई कालो मोसो लगाउंदै हिडेको हामी कसैले पनि देखेका वा सुनेका छैनौं । बरु ल्यापटप र मल्टीमिडिया डिभाइसहरु बोकेर प्रिजेन्टेशन र डाटा अपलोड वा डाउनलोड गरेका चाहीं देखेका छौं । बन्दुक बोकेर रोल्पाबाट सिंहदरवार छिर्नेहरुको विषयमा चासो नभए पनि र कसैलाई स्पष्टिकरण दिन नपरे पनि विद्यार्थिको ट्याग लगाएर विश्व विद्यालयमा छिर्नेहरुले ल्यापटप र कापी-कलमको साटो कालोमोसोको बाल्टी बोकेर प्राध्यापकहरुलाई लगाउंदै हिडेको सुन्ने जो कोहिले पनि भने थाहा पाए भने हामीलाई प्रश्न गर्नेछन हामीले विश्व विद्यालयमा के सिक्यौं भनेर । अझ जवाफ दिनु पर्ने होला हाम्रो प्राथमिकता कालोमोसोको बाल्टिन हो या शिक्षा भनेर । हामी आंफै पनि सोच्न बाध्य हुनेछौं हाम्रा जुनियरहरु हाम्रा पुराना ल्यापटप भन्दा विकसित यन्त्रहरु भिरेर हाम्रो पुस्ता भन्दा१० गुणा अगाडि जाला या बाल्टीन र कालोमोसो मै रमाउला !

के यस्तो बेलामा हाम्रो कुनै दायित्व छैन ? के हामीले आफुले विदेशमा सिकेको र देखेको कुरो आफ्नो घर जत्तिकै महत्वपुर्ण र प्यारो त्रिवीमा पनि बुझाउन जरुरी छैन ? पक्कै पनि छ त्यसैले कालोमोसोको बाल्टीन बोकेर विश्वविद्यालय जान रुचाउने “शिक्षित युवा“हरुकालागि थप केहि बाल्टीनहरु आवश्यकता परेको हुन सक्छ , त्यसैले उनीहरुलाई बाल्टिन उपहार दिउं र उनिहरुले पाएको “शिक्षा“ प्रति व्यंग गरौं ताकि उनिहरुमा सोच्ने शक्ति छ भने आंफ्नो कर्तव्यवोध गरुन र अन्य जेहन्दार विद्यार्थिहरुले पनि यो महसुस गरुन र उनिहरुको भविष्य माथि खेलवाड गर्ने “जंगली“ खेलाडिहरुलाई बाल्टिन सहित शैक्षिक संस्थाबाट लखेटुन । अनि बाल्टीको बाहिर एउटा ल्यापटपको फोटो पनि टासेर दिने मेरो प्रस्ताव छ ताकि त्यो तस्विरले उनिहरुलाई घच्घच्याइरहोस बोक्नु पर्ने बाल्टिन हो या ल्यापटप भनेर ।

यसको लागि कम से कम १० वटा प्लास्टिकका बाल्टि मेरो तर्फबाट प्रदान गर्ने बाचा गर्दछु र अरु साथिहरुबाट पनि हाम्रा त्रिविका दिग्गज युवा पुस्ताको ज्ञानको ढोका खोल्ने ल्यापटपको फोटो टासिएको बाल्टी जम्मा गर्ने कार्य स्वतस्फुर्त रुपमा गर्न अनुरोध गर्दछु । र सबैबाट त्रिवीमा मौलाउन लागेको गलत प्रवृतिको विरोधका लागि आफ्नो तर्फबाट सहयोग गर्न अनुरोध गर्दछु । अरु के के गर्ने र कसरी गर्ने भन्ने जिम्मा यहांहरुकै ।

पुनश्च : यो कुनै राजनितिक र बैचारिक आग्रहबाट निर्देशित कदम नभएर विश्व विद्यालय भनेको के हो भन्ने कुरा बुझेका र देखेका व्यक्तिहरुबाट नबुझेका र नदेखेकाहरुको लागि बुझाउन चालिएको कदम हो । यसमा अध्यक्ष, उपाध्यक्ष वा कमिटिहरु बनाएर नेता बन्ने नेपाली परंपरा पनि नजोडियोस भन्ने अनुरोध पनि छ ।


3 Comments:

प्रबिण थापा said...

अत्यन्तै मन छुने लेख पन्डा जि । यो आजको समस्या होइन बिगतको निरन्तरता मात्र हो जुन् अजभन्दा १५ बर्ष अगाडिनै समाधान गरिसक्नु पर्थ्यो ।। के गर्नु यहाँ यस्तै छ राजनीतिले नगाजेको कुनै क्षेत्र बाकी रहेन जुनसुकै बिषयबस्तु र समस्यालाइ पनि राजनीतिको चस्मा लगाएर हेर्ने हाम्रो परम्परा बनिसकेको छ । अनि सहमतिको बाटो नखोजी कसरी हुन्छ मुठ्भेड निम्ताउने र धमिलो पानीमा माछा मार्न खोज्ने शकुनिको चाल छ हामीमा ।
अनेकौ बिघ्नबाधा सहदै घिस्रेर भएपनि आजको अवस्था सम्म TU जिबितै छ । यसको छातिमा धेरैले परेड खेले हजारौ पिडा सहदै यसले अनेकौ फुलहरु फुलाइरह्यो, बर्ष भेल बाढी पार लगाउदै आफु रित्तो भएर अरुलाइ सुसारी रह्यो । शिक्षा क्षेत्रका पिचासु दलालहरुले यसलाइ खोक्रो बनाइसकेका छन । अब पनि केही गरिएन भने भोली बिहान यसको मिर्तु निश्चित छ । आसा गरौ यसपल्ट केही हुन्छकि? र ति दलालहरु न्यायको पिजडा भित्र चाडै थुनिनेछन ।

ठरकि दादा said...

एकदमै सार्थक र समसामयीक लेख। कालोमोसो प्रकरं जस्तो घृणित कार्यको पनि यस किसिमले व्यबहारिक र व्यंग्यात्मक तरिकाले गर्नु भएको बिरोधको म पनि १००% सहमती जनाउँछु । साथै कालोमोसो दल्ने र दल्न लागाउनेहरुलाई ससम्मान एक-एक वटा पूर्णकदको ऐना पनि उपहार दिने मन छ ।

नेपालियन said...

पान्डाजीले बाल्टीन दिने भन्नुभएको रहेछ। पढ्नेको नाम यस्ता पटमुर्कलाइ त लाल्टीन दिन मन लाग्यो। नेपालमा सधै लोडसेडीग, कमसेकम लालटीन बालेर पढ्न थाले यिनीहरुको घैटोमा घाम लाग्थ्यो कि?
बिरोध, समर्थन जे पनि गर्न सकिन्छ। तर यि माओबादीका चल्लाहरु अरुभन्दा ठुलै र नोक्सान हुने बिरोधमा उत्रन्छन। नेपालमा रहेको समस्या भनेक दण्डहिनता नै हो। यस्ता कालोमोसो लगाउनेलाइ कारबाही नगरे फेरी पनि यस्ता खबर आइरहन्छन।
पाण्डाजीले आफु पढेको ठाउंको मर्म बुझेर लेख्नु भएको लेख सारै मन छुने खालको छ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !