April 6, 2009

डलर टिप्ने यात्रा - ५

शेखर ढुङेल
०३-३१-२००९

(यो यात्राको शुरु देखीका भागहरु पढन यहाँ जानु होला )
नेपाल मै दुताबास भए पनि नेपाली कर्मचारीको नेपाल मै डलर टिप्ने दुस्प्रयासको कारण वाक्क दिक्क भएर १९९५ देखी भिसा शाखा दिल्लीले हेर्न थालेको रहेछ त्यो पनि त्यसै बेला थाहा भयो । विश्‍वमा नेपालमा मात्र त्यस्तो भयो जहाँ आबासिय राज दुताबास छ, तर भिसा लीन भने अर्को देशमा भएको दुताबासमा जानु पर्ने । नेपाली कर्मचारी को बदमासि र तत्कालिन सरकारको लाचारीको नमुना लाग्यो अस्ट्रेलियन दुताबास अनी दु:ख र अनाबस्यक खर्चको भार ब्योहर्ने सोझा जनता ।

इन्डियन् एयरलाइन्सको बिमान बाट दिल्लीको लागि उड्दा संगैको सिटमा रहेका यात्रि सित परिचय भयो। उनी रहेछन कोलकोत्ताका धन्याड्य । प्राचिन कला , चित्र र मुर्ती सँकलन् गर्ने शौख रहेछ उन्को । एक घण्टा २० मिनेटको आकाशे बाटोमा ब्यापार केन्द्रित गफ भयो, ब्याबसायिक कार्ड आदान प्रदान भयो । मेरो कार्ड देखेर उनी उत्साहित भएको संकेत मैले पाएँ । वासेबल प्लास्टिक र फोटो सहित को कार्ड मा यस्तो लेखिएको थियो

म्यानेजिङ डाइरेक्टर फार इस्ट ट्रेडर्स नेपाल ( एक्स्पोर्ट इम्पोर्ट )
एक्सुकेटिभ फाउन्डर सचिब नर्वे नेपाल फ्रेन्डशिप एन्ड कल्चर एसोसियसन
फाउन्डर एक्सुकेटिभ मेम्बर अस्ट्रिया नेपाल चेम्बर अफ कमर्स
सचिब जापान नेपाल नागरिक समिती

यो कार्डले एउटा हिन्दी कहावातको याद दिलाउदथ्यो '' जो कुछ नही कर्ता, वही सब कुछ कर्ता '' भने झै यो गर्छु त्यो गर्छु भनी भाग्यो कुद्‍यो प्रतिफल जिरो थियो । मैले अस्ट्रेलियामा ब्यापार सुरु गर्न भिसा ठोक्न जान लागेको भने । उन्ले आफ्नो अनुभब र सल्लाह को भारी मात्र दिएनन आज उन्कै (दाजु )को घरमा बस्न जान बल पनि गरे । उन्का दाजु दिल्लीको लागि कोरियन कार देउ का डिलर रहेछन । दिल्ली बिमान स्थल मै कार खडा थियो दक्षीण पाटेल नगरमा पुगी कार रोकियो । सुरक्षा गार्डले सेलुट ठोके, बिमानमा बनेका मित्रले भने '' ए बहादुर भि नेपाल से ही हे '' एक छिन अगीसम्म शानले फुकेको छाती बेलुन फुट्या झै छ्यास छुस खुम्चियो । तिनी सित हात मिलाएँ र घर सोधे । धादिङ का रहेछन । बिगत १२ बर्ष देखी त्यहा रहेछन । भारतीय मित्रले उन्को ठुलो प्रसंसा गरे । खुशी लाग्यो । घर भित्र पसे पछी त म नर्भस जस्तै भए, पछाडि दुई वटा पौडी पोखरी, फ्लोर देखी भित्ता सम्म कहिल्यै नदेखेको महङा सजावट का अनगिन्ती सामान, ४ कोठा भएको छुट्टै पाहुना घर । उन्ले थापा भनी सम्बोधन गर्दै सुन्तलाको जुस मगाए। नेपाली टोपी मै ढल्केका थापा जि पनि धादिङ कै रहेछन । कता कता मेरो मनले सोच्यो कतै इन्ले मलाई पनि जागिर खान्छस त भन्दैनन ?

हामी उन्को दाजु को पर्खाइमा थियौ । उनी आए पछी पक्कै कुखुराको साप्रो र तीन पानी धोक्न पाइएला भन्ने मेरो सोचाइले त्यस बेला हावा खायो जब उनीहरु साकाहारी भन्ने थाहा पाएँ । आपको अचार्, सुख्खा रोटी ,दाल अनी प्याज, कागती, मुला को सलाद मा डिनर खत्तम । हामी भे ? ।

भोली पल्ट बिहा ६ बजे नै अर्का थापा दाईले कार मा चाणक्य पुरी पुर्‍याई दिए, जहाँ भारत को लागि अस्ट्रेलिया को राजदुताबास रहेको छ । चाणक्यपुरीको जस्तो बिदेशी नियोग, आबासको लागि मात्र छुट्टै ब्यबस्था गरिएको बिशाल क्षेत्र अन्य देशमा कही पनि छैन । तर नेपाल र इन्डोनेसियाको भने बाह्र खम्बा रोडमा उछिट्टिएको छ । त्यस बेला पुग्दा पनि मेरो नम्बर ११३ थियो । कुन त बिशाल भारत त्यस्मा पनि जम्मा ४ मुख्य ठाउँ बाट मात्र भिसा दिने हुँदा त्यो भिड स्वाभाबिक नै हो रे । भित्र पसियो २ घण्टा पछी आयो त्यहाको मर्स्या यमराज को दुत सित मुखा मुख गर्ने पालो । के-के नाना भाँती प्रश्नको झटारो हान्छ बा!। तालुमा टुटुल्को उठ्ने गरी, तँ यो हिन्द महासागर को बैतरणी तर्न सक्दैनस पो भन्छ गाँठे !।

त्यो यमदुत भए म पनि महादेब को दुत ( पशुपती को छिमेकी ) के कम्, त्यस्को भन्दा ठुलो आबाजमा चर्केर कर्के आँखाले हेर्दै भने हिन्द त के, दुई चोटि प्रशान्त महासागर वार पार गरी सकेको मान्छे लाई त्यसो भन्ने ? । जा तेरो ख्वामित यमराज लाई बोला, कि मेरो फाइल लगेर देखा, त्यस पछी म यो बैतरणी तर्न सक्छु कि सक्दिन थाहा पाउँछस । उ मेरो फाइल बोकेर भित्र हुत्तियो । मलाई १५ मिनेट कुर्न भन्यो । आधा घण्टा पछी सहायक् यम राज ले उन्को कोठा मा लगे र सामान्य सोध पुछ पछी गूड् लक भन्दै ढ्याम्म ठप्पा लगाइ दिए ।

मलाई अस्ट्रेलिया हुत्याउन उफार्नेमा अर्का एकजना कङारुका मित्र पनि थिए । उनी थिए तत्कालिन श्री ५ को सरकारले गठन गरेको भन्सार सुधार सुझाब आयोगका प्रमुख जोन हवार्ड त्यस्तै नाम तत्कालिन कङारु का प्रधानमन्त्रीको पनि थियो । उन्कै सहयोगमा सिडनीमा हस्त कलाको सामान बेच्नेहरु को सुची पाएको थिएँ । उन्कै सल्लाहमा दिल्ली बाट दुई ट्यान्का र काठमान्डु बाट एक गरी तीन ट्यान्का आधुनिक फेन्सी गहना , नेपाली कागज का बस्तु आदी बोकी सिङ्गापुर एयर लाइन्स को एयर बस ३२० ( २०० सेरिज ) को उडान मा चडें। बिमान स्थलमा जुत्ताको धुलो टक टकाउदै । ७: ४० साँझमा सिङ्गापुरमा झारी दियो । फेरी दौडदै जानु पर्ने रे छ अर्को हैजाज भेट्टाउन, त्यो साँढे हो कि गोरु ८ बजे उड्ने रे छ । लाइफको जिन्दगीमा पहिलो पल्ट बोइङ ७४७ ( ४०० सेरिज ) को हुक्कु चिल चढेको । नाइट बस झैं साँझमा चढेको बिहान ६ बजे तिर सिडनीमा थचारी दियो । त्यहाँका प्रहरी र भन्सार कर्मचारीको सहयोग देखेर म उनीहरु प्रती अनुग्रहित भएँ, किनकी मेरो अमेरिकाको दुबै पटकको भ्रमणमा नमिठो अनुभब भएको थियो । दोस्रो पटकमा त कुरो बुझिसकेको थिए त्यसैले अचम्म लागेन । पहिलो पटकमा भने एकछिन त आफ्ले आँफैलाई भि. आइ. पी. नै सम्झे । एक छिन पछी छुट्टै कोठामा तीन तीन वटा के जातका साँढे जत्रा कुक्कुर फ्या- फ्या गर्दै घुम्न थाले पछी पो चिट चिट पसिना आएको थियो । क्यालिफोर्निया को एल. ए. बिमानस्थलमा थाइ एयर वेजको बिमान्बाट निस्कने बित्तिकै प्रहरीले कहाँ बाट आइस ? , के गर्न आइस भनी सोध्यो । भुखमरी देशको ब्यापारि हुँ भने । के मान्छे गन्दथ्यो ?, ‘फलो मी’ भन्यो मैले इस्पेसल ट्रिट गरी छिट्टै बाहिर पुर्‍याई दिन लाग्यो भन्या त कुक्कुर लेराए पछी पो थाहा भो । नाङे झार पारेर जाचेर छोडि दिएको थियो एउटा घोषित अपराधी लाई झै । तर त्यहा त्यसो भएन । त्यती धेरै सामान देखेर सोधे किन लेराएको ? मैले भने यो नमुना सामन हुन । तिम्रो देशमा ब्यापार गर्ने महासुरमा छु म । गूड् लक भन्दै छोडि दिए ।

दङ पर्दै नयाँ संसारमा बाहिर निस्किएँ । बास बस्न जानु पर्ने ठाउँको मित्र लाई फोन गरे, फोन उठदैन । भाडा कार लिएर त्यो ठेगानामा पुगे । पब्लिक बुथ बाट फोन गरें उठदैन । एपार्टमेन्टको घन्टी बजाए ‘नो रेसपोन्स’ । शनिबार को दिन १० बजी सक्यो । निन्द्रा भन्दा पनि कट्टी मुनी को दुबै बीभागमा आपत कालिन समस्या भै सक्यो कहाँ जाने ? ।नेपालको जस्तो खुरुरु कान्ला मुनी पुगेर सिध्याइ दिने ठाउँ पनि छैन क्या फसाद ? ।जस्ले बोलाएका थिए उन्लाई फोन हाने २ घण्टा टाढा बस्छु पो भन्छन । फेरी फोन गरे बल्ल उठ्यो अडकेला जस्तो भै सकेको श्वास फेरी सुचारु भयो । अनिन्द्रा र अरुचिपूर्ण आवाज थर्क्यो कानमा ‘ए आइपुग्नु भो, ल एक छिन पर्खनोस म तल आउछु"’ । एक घण्टा बित्यो चरो मुसो झर्या होइन । फेरी फोन गरे उठ्या होइन । त्यही कोठामा बस्ने अर्का मित्रको नम्बरमा हाने उन्ले उठाए र भने ‘ए आइसक्नु भो ?’, आफ्नु जाने बेला भै सक्यो आउने कूरा ? उनी हत्तार हत्तार गर्दै आए । सामान घिसार्दै लगे । उनीहरु ५ तला माथि को एपार्टमेन्ट मा बस्दा रहेछन ।

कोठामा प्रबेश के गरेँ, हुसुसु बियर, गाँजा को डुङ डुङति गन्ध थियो । यसो आँखा घुमाएँ, अन्य दुई केटा र दुई केटी लगभग नग्न अनी बेहोस अवस्थामा सोफा र भुइँमा लडेका देखेँ । टेबुल मा निलो चलचित्र , बियर वाइन का खाली बोतल र अर्को छेउ मा गाजा को बाँकी पोको थियो । ति आफन्त ले किन्चित असजिलो नमानी भने हिजो गूड् फ्राइ डे मनाएको साथीहरु सित, एक नेपाली र एक फिजियन युबती विद्यार्थी साथी रे उन्का । मेरा नजिकका आफन्त जस्को अनुरोधमा म त्यहा गएको थिए उनी त खुट्टा टेक्न सक्ने अवस्थामा नै रहेनछन । उनलाई ब्युझाएँ, तर पनि टाउको दुखेको भन्दै कोठा मा गएर सुते ......... बाँकी

(यो यात्राको छैठौं भाग हाँ )



4 Comments:

Anonymous said...

wa wa kaya bat he keep it up...
i cant wait to read rest part too.

postak_shrestha said...

ल ल शेखर दादा,जाओस्, जाओस, तपाँईको बेधढक प्रस्तुती रोचक छ।

प्रबिण थापा said...

la shekhar ajahi jaos hai, interesting

Luna said...

मज्जाले हसाउने गरी लेख्नु भो !
हुन त बिचरा कत्ती मर्म परेको रहेछ उती बेला तर अहिले त्यही मर्म लाई मज्जाले हसाउने गरी लेखिदिनु भएछ !
यो पनि गज्ज्ब को आर्ट हो ! त्यो बेलाको त्यस्तो मर्म लाई यस्तो सँग मरी मरी हसाउने गरी लेख्न सक्नु !
धेरै धेरै धन्यवाद है ।
( नेपाली ढाका टोपी मा सुहाउनु भएको जत्तिकै राम्रो छ यो लेख :) ! )

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !