February 21, 2009

अधिवेशन एमालेको, जीत र हार अरूको

इतिहास , सांगठनिक संरचना र व्याप्तिका आधारमा नेपालको बामपन्थी राजनीतिको मुख्य घटक नेकपा एमालेले अहिले बुटवलमा आफ्नो राष्ट्रिय अधिवेशन सञ्चाल गर्दै छ । यो अधिवेशनले आगामी ५ वर्षका लागि एमाले पार्टीको राजनैतिक बाटो र नेतृत्व तय गर्ने छ । हिंस्रक क्रान्तिको पक्षपाती तत्कालको झापाली नक्सलाइटिष्ट कम्युनिष्ट पार्टी मालेले २०४६ सालमा भएको बहुदलीय राजनीतिको पुनर्स्थापना पश्चात आँफूलाई समाजवादी लोकतन्त्रको पक्षमा रुपान्तरण गर्दै बलियो प्रतिपक्ष र कथंकदाचित सत्ताको तहमा पनि स्थापित गर्योस । तर पछिल्लो राजनैतिक परिस्थितिमा , बाहुबली र हतियारधारी कम्युनिष्ट माओवादीको पीठो बिक्न थालेकाले, नेपाली राजनीतिको मूलप्रवाह कम्युनिष्ट कुन हुने भन्ने 'एसिड टेष्ट' पास गर्न पर्ने बेलामा एमालेको अहिलेको अधिवेशन हुन गैरहेको छ । यो सन्दर्भमा, अहिलेको अधिवेशन र यसको 'आउटकम' पनि एमाले स्वयंका लागि भन्दा अरूकै लागि महत्वपुर्ण बन्न गएको प्रतीत हुँदै छ । नीती र कार्यक्रम जे पास भए पनि , अहिले एमाले भित्र देखिएको मुख्य रडाकोको छिनोफानो 'माओवादीका मतियार कित्ता' र 'माओवादी बिरोधी कित्ता' को 'क्लियर कट' विजयमा हुने हो कि भन्ने लक्षण देखिँदै छ ।

के पी ओली माओवादी दादागिरीका कटुआलोचक हुन र माओवादीहरू त उनलाई फुटेको आँखाले पनि नेतृत्वमा आएको देखि सहन्नन् । उनको चुनावी समीकरण पार्टीका वरिष्ठ नेता माधव नेपालसंग हुन सक्ने सम्भावना बढेको छ किनभने माधव कामरेड पनि आँफूलाई माओवादीले बेला बेलामा गरिरहेको मानमर्दनबाट क्षुब्ध हुनु स्वाभाविक हो । कहिले राजालाई दाम चढाएको कुराको बदख्वाईँ गरेर नथाक्ने र कहिले माओवादीसंग समीकरण गरेर पनि राष्ट्रपतिमा झलनाथले माधव नेपाललाई अन्तिम समयमा चिप्लाएको कुरा माधव कामरेडको मनमा खिल बनेर गाडिएको छ। यसमा झलनाथ निर्नायक नहोलान् तर उनले पनि दाउपेच राखेको कुरा सत्य हो । यदि कांग्रेस, एमाले, नेपाली सेना समेतको इण्ट्रेष्टमा माओवादी सरकारको विकल्प खोजिने कुरा निकट भविष्यमा हुने सम्भावना छ भने त्यहाँ एमालेको नेतृत्वमा नेपाल-ओली रहनु मात्र सकारात्मक हुनसक्छ भनेर कांग्रेस र अन्य मध्यपन्थीहरूले तिनको समर्थन गरिरहेका हुन सक्छन् ।

वर्तमान महसचिव झलनाथ खनाल र बामदेव गौतमको खनाल-गौतम समूह एमाले वृत्तमा माओवादी शुभेच्छुकका रूपमा र पूर्व महासचिव माधव नेपाल र खड्ग ओलीको नेपाल-ओली समूहलाई माओवादी बिरोधीको रूपमा चिनिने हुनाले कतिपयले यी मध्ये एउटा वा अर्को समुहको विजयलाई माओवादी नेतृत्वको सरकारको आयूसंग समेत जोडेर हेर्ने गरेको पाइन्छ । अधिवेशनको उद्घाटन समारोहमा , झलनाथले प्रधानमन्त्री प्रचण्डलाई मुख्य अथिति बनाएर मात्र हैन स्वयं आँफू महासचिव रहेको पार्टीको आफ्नै पद र कदलाई सानो पार्दै प्रचण्डलाई अगाडि सारेको कुराको पार्टीभित्र नै बिरोध भैरहेको सन्दर्भमा, झलनाथले के सन्देश दिन चाहे प्रष्ट छ । उता बामदेवको कुरा त कस्तो छ भने मन्त्रीमण्डलको बैठकमा एमालेको नं १ नेता हुँदा हुँदै पनि एमालेको अडान राख्ने काम त्यहाँ जलस्रोत मन्त्री विष्णु पौडेलले गर्ने गराका छन् । स्वयं एमालेका मन्त्रीहरूको बुझाइ छ बामदेव कामरेड केवल प्रचण्डको डेपुटी हुनुमा गर्व गर्छन् र सोही भूमिकामा आँफूलाई राख्न चाहन्छन् । यस्तै रह्यो र भोलि एमालेले अहिलेको गठबन्धनबाट बाहिरिन चाह्यो भने बामदेव कामरेड मन्त्रीमण्डलमा नै छोडिनुहुन्छ होला पार्टीमा फर्कनुहुन्न होला भन्ने गाइँगुईँ एमाले-माओवादी वृत्तमा बेसरी नै चलेको पाइन्छ । यसरी माओवादी सरकारको रक्षाकवच बनेर रहेका खनाल-गौतम लाबी एमालेको नेतृत्वमा स्थापित हुन सकेमा आगामी दिन राम्रै कटाउन सकिनेमा माओवादी समेत विश्वस्त रहेको हुनाले, यो एमाले अधिवेशन माओवादीलाई बेसरी लागेको महशूस सबैले गर्ने नै भए ।

परिणाम जे भए पनि, हुने नै छ । जे होस् , माओवादीको अतिवाद र कांग्रेसको दिशाविहीनताको मझधारमा आँफै आफ्नो परिचयमा क्रमश: हराउँदै गएको एमालेले आँफूलाई विशिष्ट बनाएर राखिरहन र नेपाली राजनीतिको एउटा महत्वपूर्ण शक्ति बनिरहन अहिलेको अधिवेशनलाई भयानक चुनौति र मौकाको रूपमा अपनाउन सकोस् भन्ने कामना भने गर्नै पर्छ । एमाले , खनाल-गौतमको माओवादी ‘बि’ टिम वा माधव- ओलीको एकल बपौति नबनोस् बरू आँफ्नै विशिष्टतामा बाँच्न सक्ने बलियो राजनैतिक प्रवाह बन्न सकोस् , यही शूभकमना !!!



2 Comments:

प्रबिण थापा said...

चाहे नेपाल-ओलिको टिम बिजय होस् चाहे खनाल- गौतमको बि टिम नै। तपाईंले भनेजस्तै एमाले को यो महधिबेशनले नेपाली राजनीतिमा अर्को भुकम्प ल्याउने खतरा भने छ। यदी नेपाल-ओलिको टिम बिजय भए यसबाट कांग्रेसले अर्को सत्ता परिवर्तनको अभ्यास एमालेको आडमा गर्न सक्छ भने खनाल - गौतम को टिम बिजय भए माओवादीको सत्ता चुरिफुरी बढेर जानसक्छ। यदी यस्तै भयो भने नेपाली राजनीतिमा अर्को आयम सिर्जना हुनेछ र यो देश,प्रजातन्त्र र नेपाली जनताको हितमा अबश्य हुनेछैन। राष्ट्रको यस बिषमा परिस्थितीमा यि दुबै कित्ताहरुलाई सम्हालेर अघी बढ्न एमलेलाई सजिलो भने हुनेछैन जुनसुकै समुहको बिजयले तर यो एमालेको लागि एउटा चुनौती र अबसर को घडी हो, आगामी नेत्रित्व ले यि बिबिधतालाई मध्यनजर गरी एउटा परिपक्क पार्टी को हैसियतले आफ्नो बिबेक सम्मत निर्णय राष्ट्र र जनतालाई आधार बनाएर गरे एमालेको बिग्रेको छबी सुध्रिने र देशले एउटा सही दिशा प्राप्त गर्न सक्ने कुरा भने दुईमत छैन । आशा राखौ एउटा सक्षम टोली यो महधिबेशनले निर्माण गर्ने छ एमालेको आगामी कार्यदिशा नेपाल र नेपालीको हितको लागि हुनेछ जहाँ नेपाल हाँस्न सक्ने छ , नेपालीले साँच्चिकै शान्ती र अमन चयनको अनुभुती गर्न पाउने छन। मेरो पनि यही शुभ कामना !

पीजी said...

अर्को अर्थमा भन्दा यो अधिवेशन एमालेको विभाजनको पुर्व सन्ध्या बन्न नसक्ला भन्न सकिन्न ।

एमालेमा पहिले देखि नै दुइ प्रमुख धारहरु छन र कुन धार कसरी जान्छ भन्ने अधिवेशनले देखाउला । यो कुनै पदको लागि मात्र नभएर सिध्दान्तको समेत विषय भएको हुनाले के हुन्छ यसै भन्न सकिन्न ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !