January 5, 2009

नयाँ पशुपति र माओवादीका दिमागी आयतन ।

सुन्दा पनि उदेक लाग्ने खवर, त्यो पनि सानो घटना एक चोटिमा समाप्त भएको भए पनि भिन्दै कुरा, अब नेपालका महानतम नेताहरुका महानताका कारण राजनीति संसद, पार्टि कार्यालय वा कार्यकर्तामाझको बृत्तलाई नाघेर मन्दिरमा समेत पुगेको छ। यस बारेमा लेख्दिन भनेर बसेको थिएँ, तर आफू नास्तिक नै भएपनि धार्मिक क्षेत्रमा प्रवेष गरी चलाईएको यो माओबादिको नंगानाचको भने बिरोध नगरी सकिएन।

धर्म भनेको मानव चेतनाको उच्चतम शिखरको प्रवेशमार्ग हो र यो कुरालाई पु्र्ण भौतिकबादि दृष्टिले मात्रै हेर्नु आफैमा यौटा गलत दृष्टिकोण हो । त्यसमा पनि कहिले सर्बोच्चले भन्दैमा मान्छौं र? त कहिले नया पशुपतिनाथ बनाउन आफू लागिपरेका जस्ता मुर्खतापूर्ण र बज्रस्वाँठ बक्तव्य दिएर मात्रै नपुगेर सो पवित्रस्थानमा आईतबारका दिन मान्छे कुट्ने जस्ता हिंसामा उत्रेर मओबादिले पुन एक पटक गैह्र जिम्मेवारिपन र निरंकुशताको परिचय दिएको छ ।

Quote आफूलाई माओबादको ज्ञान नभए पनि धर्म र माओबादसंग गोरु बेचेको पनि साईनो छैन भन्ने कुराचाहि मलाई पनि थाहा छ । अनि जहा कुनै साईनो, परिचय वा नाता गोता हुँदैन भने त्यो बारेमा कुनै जानकारी हुने कुरा पनि भएन। यसरी माओबाद भीत्र धर्म नअटने भन्दै अरुको आस्था र मान्यतामा ठाडै प्रहार गर्ने अधिकार पनि कसैलाई नहुनु पर्ने हो ।

हुन त धार्मिक ग्रन्थहरु हेरेर बस्दैन यो ठरकी, तर एकदिन यस्तै फुर्सदमा कतै पढ्दा कुनै पुराणमा शिव धन वा शिवको सम्पति लिन नहुने कुरामा मेरो नजर गएको थियो । शिव धन, जसलाई शास्त्रमा ‘शिवस्व’ भनिन्छ कसैले पनि लिन वा खान हुँदैन भन्ने पौराणिक मान्यता छ। पुराणमा कसैले ‘शिवस्व’ खाएमा अर्को जन्ममा कुकुर भएर जन्मिनु पर्ने सम्मका कथाहरु आएका छन ।त्यसैले अहिले पनि हामिकहा धेरैजना पशुपति वा शिवालयमा जाँदा जल खाए पनि प्रसाद भने ग्रहण गर्दैनन।

सुन्नमा आए अनुशार पशुपतिका मुल पूजारी राख्न नेपालमा सो पूजा गर्न जान्ने वा सक्ने मानिस नभएर हैन, सधैं मन्दिरमा बसेपछि जत्ती होश पुर्‍याएपनि ‘शिवस्व’ नखाई साध्य नहुने हुनाले ऐतिहासिक कालदेखि नै कोहि पनि सो कार्य गर्न नमाने पछि मात्रै दक्षीण भारतबाट भट्ट ल्याईएको भन्ने श्रुती पनि छ ।

म यहा कुनै ऐतिहासिक श्रुती वा किम्बदन्तिलाई सत्य सावित गर्न लागी परेको हैन तर कुरा जे सुकै भएपनि कानूनि राजको ठाडै अपहेलना गर्दै मानव आस्थाको मर्ममा चोट गर्न भने कसैलाई अधिकार छैन ।

‘नया नेपाल बनाउने र दस हजार मेगावाट बिद्युत उत्पादन गर्ने’ वतासे गफ दिएर सत्तामा पुगेका माओबादीको राज हुदाँ देश आज पुराना सबै रिकर्डको क्रमभंग गरेर १४ घण्टा अन्धकारमा डुबेको छ ।

बोल्न पाएपछि बोलिको के अर्थ हुन्छ नसोच्ने मात्रै नभई आफैले के बोल्दैछु भन्ने समेत भेउ नपाउने अबस्थाका माओबादी नेताको ‘नया पशुपति’ बनाउने जस्तो बचकाना वक्तव्य पढ्दा भने पक्कै पनि सबैजना कींकर्तव्यबिमुढ भएको हुनुपर्छ । भौतिकतावादि भनेर चिनिएका माओबादि खाली ‘भौतिक कारवाहि’ मा मात्रै भौतिकतावादि देखिएको र त्यो बाहेक विकास, निर्माण वा कुनै पनि रचनात्मक काममा पाईला समेत नसरेको कुरा जग जाहेर छ । अब सोच बिचार नगरी जे मा पनि ‘नया’ भन्ने पुरानो थेगो हालेर ‘नया पशुपति’ बनाउने यिनका कुरा सुन्दा हाँसो लाग्ने भन्दा पनि यिनका दिमागी आयतनका बारेमा सोच्न बाध्य बन्ने गरेकाछन जनता ।

जे सुकै‍ होस, पशुपतिमा भारतिय पूजारी नै हुनुपर्छ भन्ने मेरो पनि मान्यता हैन, तर कुनै पनि कुरा कानूनी प्रक्रिया पुर्‍याएर मात्रै गरिनु पर्छ र धार्मिक क्षेत्रमा हिसात्मक गतिबिधि सन्चालन गर्न भने कसैलाई पनि छुट हुनु हुदैन । सर्बोच्चले भन्दैमा मान्छौं र?हामी नया पशुपतिनाथ बनाउछौं जस्ता वाईयात र बेतुकी गफ गरेर माओबादिले दुनियाको नजरमा आफ्नो मथींगलको वजन कम भएको जानकारी बारम्बार गराउन कुनै जरुरत छैन, जनतालाई यिनका दिमागी आएतनका बारेमा बिगतका कैयौं घटनालेनै पुर्ण जानकारी दिईसकेको छ ।



30 Comments:

प्रबिण थापा said...

तपाईंले भने जस्तै बिना कुनै ग्रीहकार्य समस्थ हिन्दू धर्मलम्बीहरुको आस्थाको केन्द्रमा जुन किसिमले पूजारी नियुक्ती गर्ने निर्णय नेपाल सरकार को तर्फ बाट भयो यो सरसर गलत थियो। यस्तो निर्णय गर्नु अघी सम्बन्धित बिषयमा बिशेषज्ञ हरु सँग छलफल गर्नु पर्ने थियो। अबस्य पनि धर्मिक क्षेत्रमा आइतबार जुन किसिमको हिम्सा भयो त्यो जो जसबाट भयपनी निन्दनिय छ तर तपाईंले लेखभीत्र जुन किसिमले माओवादीको खेदो खन्न खोज्नु भएको छ त्यो भने अली सुहाएन। हो १० बर्ष भित्र १०००० मेगावट बिजुली निकाल्न सकिन्छ यदी तपाईंहामीले सरकारलाई सहयोग गर्‍यो भने यो एउटा यथार्थ हो। माओवादी को कारणले देश १४ घण्टा अन्धकारमा परेको भन्ने तपाईंको निस्कर्ष भने पूर्ण गलत जस्तो लाग्यो हो यसको लागि माओवादी जिम्मेवार त छ तर उ भन्दा बढी बिगतमा सरकार सम्हालेका दलहरु जिम्मेवार थीएकी।
लेखन कार्य जरी रहोस् तपाईंको प्रगतिको कामना

Anonymous said...

सारै चित्त बुझ्ने लेख लेख्नुभयो ठरकीजी। मलाइ पनि यो बिषय दिक्क लागि राखेको थियो तर इजरायलको युद्द जस्तो कता बाट सुरु गर्ने भनेर ट्वाल्ल परेर बसेको थिए। देश बिदेशको यस्तो पबित्र स्थानमा पुजारी परिबर्तन कुनै पनि कुरा कानूनी प्रक्रिया पुर्‍याएर मात्रै गरिनु पर्छ र धार्मिक क्षेत्रमा हिसात्मक गतिबिधि सन्चालन गर्न भने कसैलाई पनि छुट हुनु हुदैन । तर माओबादीले के यस्तो जात्रा गरेका हुन? जांहा पनि सांढे झै पिट पाट गर्दै हिड्ने?

ठरकि दादा said...

प्रविन जी! नेपालीयन जी,

प्रतिक्रियाको लागी धन्यवाद् । माओबादिको कारणले नै १४ घण्टाको लोडसेडिङ भयो भन्ने मेरो आशय पक्कै होईन, तर धरातलिय यथार्थको जानकारी विना वा जानकारी भए पनि त्यसको विपरित हावामा बोल्ने माओबादी ‘बानी’ लाई भने प्रष्ट्याएको पक्कै हो ।

हुन त विगतमा ‘श्‍वेच्छिक चन्दा’ माग्दै हिंडने र कतिपय चित्त नबुझेका पावर हाउसमा विष्फोट गराँउदै हिड्ने यीनै माओबादीका त्रासबाट हच्केर नेपालमा जलबिद्युतको लगानी अत्यन्त जोखिमपूर्ण भएकाले धेरै साना ठुला सम्भाव्य योजनावाट विदेशिले समेत हात झीकेको सबैलाई थाहा नै छ। यहि कारणले पनि हालको यो संकट आएको कुरा कसैमा लुकेको छैन र देश अध्यारो हुनुमा माओवादीले नैतिक जिम्मेबारी लिनै पर्छ ।

बाँकि रह्यो १० हजार मेगावाटका कुरा, यौटा नेपाली भएको नाताले तपाइ, म सबैलाई यो सफल होस भन्ने लाग्नु स्वबाविक नै हो। तर यौटा मझ्यौला योजना (जसलाई हामिकहा "Small Hydel Project” पनि भनिन्छ) को यौटा सानो जेनेरेटर वा टर्वाईन को त के कुरा यौटा वाईल सर्किट ब्रेकर वा फ्लाईह्विल वा प्यानल बोर्ड समेत मर्मत गर्न नसकेर बेहाल भएको बेलामा त्यो अथाह लगानी कहावाट ‘बर्षाउने’ योजना छ माओबादिको बुझि नसक्नुको छ ।

यो ‘दस बर्षमा दस हजार मेगावाट’ कृष्ण प्रसाद भट्टराईको ‘दुई बर्षमा मेलम्चि’ जस्तै हो । मेरो विचारमा जुन पुरा गर्न तपाई हामि मिलेर मात्रै सम्भब छैन ‘चमत्कार’ नै हुनुपर्छ । अनी भौतिकताबादी र ईश्वर नमान्ने माओबादिले कसरी यो ‘चमत्कार’ चाहि मान्छन म त बुझ्दिन ।

तर्क सहितका तपाईको टिप्पनीको लागी पून धन्यवाद् ।

प्रबिण थापा said...

लेखको आशय अझ प्रस्ट पारीदिनु भएकोमा धन्यवाद।

Anonymous said...

माबोबादिका दिमा गि आयतन नाप्न
काठमान्डौले हेला गरेको
अर्को एक नेपालीको
दिमाग को आयतन नाप्न
दुरगम जाउ - गरीब हरु खोज
प्रशस्त भेट्ने छौ ।
हिजो ओखल ढुङ्गा तिर बाट
झोला बोकेर आएका
जनता को आबाज बोल्ने
देउबाहरुको महल मा छिरेर हेर
दिमा गि आयतन नाप त्यहा
अनी तिमीले माबोबादिको दिमा गि आयतन भेट्ने छौ
नेपाल ले नेपाली पूजारी राख्न खोज्दा
भारतीय राजनीतिज्ञ ले खुट्टा उचाल्छ
उस्को उचालियको खुटा सँगइ
हाम्रा नाट्य मन्डलीहरु खुट्टा उचाल्छन
तान्डन निर्त्य गर्न
तिनिहरुको दिमा गि आयतन नाप
अनी बुझ्ने छौ माओवादी का दिमा गि आयतन ।
यती खेर माबोबादिको दिमा गि आयतन नापेर समय खर्चिनु भन्दा
देश को माटो को मुख हेरेर
प्रती गामी हरुको दिमा गि आयतन नाप्नु
देश को हितमा हुने छ
किनकी भारत ले प्रती गामी को दिमाग को आ यतन लाई
भारत को स्बार्थ मा प्रयोग गर्न खोजिरहेछ
जुन नेपाल को हित बिपरित हुनेछ !

Anonymous said...

माओवादी ले सबै कुरा लाई "नया" बनाउने क्रम मा जथा भावी हात हाल्दा आफु नै छित्तै पुरानो हुने बाटो रोजे जस्तो लाग्यो। जे कुरा को समाधान पनि लाती र बन्दुक ले गर्न सकिन्छ भन्ने भ्रम बाट मुक्त नभये यिनी हरु को हालत पनि "ज्ञानेन्द्र पथ" नै हो। आखिर सबै निरन्कुश हुन खोज्ने हरु र समय अनुसार परिवर्तन हुन नसक्ने हरु अन्तत: पतन भएर जान्छन। सत्ता मा आए पछी पनि परिवर्तन नभै लाती र बन्दुक ले समाधान खोज्ने र जंगली राज भित्र्यौन खोज्नु यिनी हरु को बोउदिक दिवालिया बाहेक अरु केही होइन। वाइ सियाल लाई नियन्त्रन गर्न नसके यो वाइ सियल को भिड अन्तत: मन्डले को दादा गीरी मा रुपान्तरित हुनेछ जस्ले माओवादी लाई समाप्त पारी दिने छ।

Basanta said...

अत्यन्त चित्त बुझ्दो कुरा गर्नुभयो ठरकी दादा! आफ्नो कुत्सित उद्देश्यलाई राष्ट्रवादको खोल ओढाएर ढाक्ने दाउ हो यो माओवादीको।

म पनि आफूलाई धार्मिक भन्दा बढी आध्यात्मिक भन्न रुचाऊँछु। मैले आफूलाई धार्मिक भन्न नरुचाउनुको कारण म नास्तिक भएर हैन, 'धर्म'शब्दसंग धेरै पाखण्डी परम्पराहरु पनि जोडिएर आउने भएर हो। सारमा सबै धर्म महान छन् जस्तो लाग्छ। धर्मको नाममा हुने यावत कुकृत्यहरुको विरोध गर्छु म। तर धर्मको सुधार र संरक्षणको विकल्प छैन।

पशुपतिनाथको धेरै महत्व छ। यो विश्वका अरब भन्दा बढी हिन्दूहरुको आस्थाको केन्द्र हो। विशुद्ध कलाप्रेमीको आँखाबाटमात्रै हेर्दापनि यो हाम्रा पुर्खाहरुले हामीलाई छोडेर गएको सुन्दर धरोहर हो, यसलाई जोगाउनु हाम्रो कर्तब्य र दायित्व हो।

नेपाली पूजारी राख्ने कुराको विरोध कसैले गरेको छैन। इतिहासको एउटा कालखण्ड विशेषमा कुनै कारण दक्षिण भारतको पूजारी ल्याएर पूजा गराउन थालियो। भारतले हामीलाई लादेको पनि होईन, हाम्रै तत्कालीन शाशक र धार्मिक नेताहरुले उनीहरुलाई अनुरोध गरेर ल्याएका हुन्। अहिले अर्को कालखण्डमा यो प्रथाको परीवर्तन हुनु जरुरी थियो र नेपाली पूजारीनै हुँदा सर्वसम्मत नै पनि हुनेथियो। यो नियुक्ति राष्ट्रिय एकताको एउटा सानो सूत्र बन्नसक्थ्यो। तर 'बाँदरको हातमा नरीवल' भनेजस्तो यस्तो राम्रो मौकालाई माओवादीले राष्ट्रिय विभाजनको हतियार बनाईदियो।

माओवादीहरु घोषित रुपमा नास्तिक र धर्म-संस्कृति-परम्पराविरोधी हुन्। उनीहरुले विगतमा धेरै मठ-मन्दिरहरु ध्वस्त पारेका छन्। संस्कृत शिक्षाको विरोध गरेका छन् र संस्कृत पढाएको निहुँमा मुक्तिनाथ अधिकारीजस्ता सोझा शिक्षकहरुको निर्मम र पाशविक हत्या गरेका छन्। माओवादी नेताहरु सगर्व गाईको मासु खाएको कुरा गर्छन्। यसैले उनीहरुलाई हिन्दू धर्म र हिन्दू धार्मिक मामिलामा बोल्ने कुनै नैतिक अधिकार छैन। तर देशको सरकारको नेतृत्वमा रहेकाले ब्याबहारिक रुपमा उसलाई ठ्याम्मै रोक्न सकिन्न। हाम्रो यहि 'ब्याबहारिक' अड्कोको चरम दुरुपयोग गरेको हो माओवादीले। सबैलाई थाहा छ विरोध नेपाली पूजारीको भएको हैन, विरोध जुन चोर-बाटोबाट आफ्नो कार्यकर्तालाई पूजारी बनाईयो, त्यहि चोर-बाटोको भएको हो। तर माओवादी यसलाई नेपाली पूजारी र भारतीय पूजारीको मुद्दा बनाउन हात धोएर लागेको छ। कुनै पनि समस्यालाई 'कालो' वा 'सेतो' भन्दा बढी केहि नदेख्ने लिँडे माओवादीहरु ठाऊँ-कुठाऊँ आफूबाहेक अरु सबैलाई राष्ट्रघाती र दलाल भन्दै गाली गर्दै हिँडेका छन। माओवादीको 'राष्ट्रवाद' र 'भारतविरोध'को रंग उहिल्यै खुईलिसकेको यिनलाई थाहा छैन। थाहा हुने कुरो पनि भएन किनभने माओवादीभित्र रचनात्मक चिन्तन कहिल्यै सिकाइन्न। त्यसकारण तपाईँले भनेजस्तै माओवादी दिमागको आयतन असाध्यै कम छ। चिन्तन-मनन र विचार खेल्ने भए पो दिमाग चाहिन्छ, सोझै हातखुट्टा र उस्तै परे बन्दुक चलाउनेलाई दिमागको कामै के र?

अब यो विषयमा मलाई लागेका तीन कुरा:
१) पहिलो कुरा त 'भारतको पूजारी' कुनै समस्यानै होइन (अब माओवादीहरुले यहाँभन्दा तल पढ्दै-नपढी मलाई राष्ट्रघाती र दलाल भन्दिनेछन्)। पशुपतिको आम्दानीको सही लेखा राख्ने र निश्चित रकममात्रै तलबको रुपमा पूजारीलाई दिने हो भने यति बिधि रडाको मच्चिनेनै थिएन। तलबमा चित्त बुझे उनीहरु बस्थे, नबुझे फर्केर जान्थे र अरुलाई ल्याउन सकिन्थ्यो। भारतका धेरै मन्दिरहरुमा नेपालीहरु पूजारीका रुपमा रहेका छन्, त्यहाँकै जस्तो ब्यबश्था यहाँ पनि गर्न सकिन्थ्यो।

२)माओवादीको नियत पनि पशुपतिनाथको सम्पत्ति हत्याउने बाहेक अरु केहि हैन। नत्र नियुक्तिमा यो अपारदर्शिता किन? दुई-चार दिन त्यहाँको भेटी गनेर देखाएपनि माओवादीको 'इमान्दारिता' दुनियाँले देखे-जानेको कुरा हो। एउटा दूरगामी असर पर्ने परम्पराको शुरुवात हुँदैछ, त्यसमा ब्यापक छलफल र विचार-विमर्श किन गरिएन? माओवादी लिँडेहरुले जे जे भनेर कराएपनि भण्डारीहरु पुस्तौं-पुस्तादेखि पशुपतिनाथको सेवामा छन्। उनीहरुसंग पनि राय लिँदा के हुन्थ्यो? देशमा धर्म-संस्कृतिका विज्ञहरु अब एकजना पनि छैनन् र पशुपतिनाथको बारेमा निर्णय गोपाल किराँती र शाक्यजस्ता नास्तिकले मात्रै गर्न सक्छन्? के देशमा पशुपतिनाथको पूजारी हुन विष्णु दहालमात्रै योग्य छन्? के कारणले, कुन-कुन योग्यता हुनाले उनी योग्य भए र अरु अयोग्य भए? यो सरकारले कहिले पशुपतिको पूजारी हुन आवश्यक पर्ने योग्यता, छान्ने प्रकृया सार्वजनिक ग-यो?

३)पशुपतिनाथलाई देशका अरु निकायजस्तै राजनीतिक भर्तीकेन्द्र बनाउने चाला हो यो। भोलि अर्को दलको सरकार हुँदा उसले माओवादीका हनुमानलाई लखेटेर आफ्ना हनुमान छिराउनेछ र यो अराजकतालाई निरन्तरता दिनेछ। परम्पराको शुरुवातनै गलत भएपछि पछिकाले सच्याउने सम्भावना झन कम हुन्छ।

यसपछि लुनाजीसंग केहि कुरा;
लुनाजी, माओवादीको दिमागको आयतन नाप्न देउबाको महलमै जानु पर्दैन, माओवादी नेताहरुको महलमा गएपनि हुन्छ। माओवादी नेताहरुले महललाई आफ्नो नभनेर पार्टीको अथवा साथी/नातेदारको भन्लान्, त्यसले केहि फरक पार्दैन। उनीहरुको जीवनशैली तपाईँले गाली गर्नुभएका मान्छेहरुको कम विलासी छैन। माओवादी दिमागको आयतन नाप्न हरेक छाक कुखुराको मासु चाहिने, हरेक रात 'रिल्याक्स'को लागि 'उपहारमा प्राप्त' विदेशी रक्सी चाहिने माओवादी नेताहरुलाई हेरे पनि हुन्छ। त्यतिमाथि पनि जानु पर्दैन, जिल्ला वा इलाका तहका नेताहरुको ठाँटबाँट हेरमात्रै पनि पुग्छ। त्यसकारण अन्धभक्त ढंगले एकोहोरो हेर्न छोडेर आफ्नो दिमागलाई अलि धेरै घुमाउनुहोस् र मात्रै कुनै पनि विषयमा आफ्नो धारणा बनाउनुहोस्।
यहाँ मैले विलासी जीबनशैलीको वकालत गरेको भन्ने नठानियोस्। म त्यसको विरोध गर्छु, मेरो अर्थ यो मामिलामा माओवादीसंग पनि कुनै नैतिक वल छैन भन्ने मात्रै हो।

आफूभन्दा फरक विचार राख्नेलाई 'राष्ट्रघाती' र 'प्रतिगामी' देख्ने 'महान माओवादी रोग' तपाईँमा पनि सल्केको रहेछ भन्ने थाहा पाऊँदा साह्रै दु:ख लागेको छ। बिभिन्न ब्लगहरुमा तपाईँका प्रतिकृयाहरु पढ्दा खुल्ला र निष्पक्ष चिन्तन राख्ने ब्यक्तिको छवि बनाएको थिएँ मैले। शायद म गलत थिएँ कि?
आफ्ना कार्यकर्तालाई जे जे भनेर भारत विरोधमा उचालेपनि अहिलेको सबैभन्दा भारतसमर्थक नेतृत्व माओवादी नेतृत्वनै हो भन्ने बिभिन्न घटनाहरुले बेला-बेला प्रष्ट पारेकै छन्। त्यसकारण माओवादीको राष्ट्रवादको धक्कू कसैले नलगाए हुन्छ। तानाशाही सोच हुनेहरु जहिले पनि राष्ट्रवादको खोल ओढ्छन्, मुगावे र किम जोङ इललेजस्तै।
अब रह्यो प्रतिगामी र अग्रगामीको कुरा। कुनै शब्दलाई च्यापेर बस्दैमा मात्रै कोहि अग्रगामी हुँदैन। निरकुंश एकदलीय अधिनायकवाद, बन्द समाज र वैचारिक-संस्कृतिक दमन हुने मध्ययुगीन शाशन ब्यबश्थामा देशलाई लैजान चाहने माओवादी सबैभन्दा प्रतिगामी हो।

Anonymous said...

धर्म मा पनि प्रचन्ड ले राजनीतिक हस्तछेप गर्नु यो सरासर अपराध हो । नेपाली हरुको एक मात्र आस्था को पवित्र मन्दिर मा पनि राजनीतिक गरेर प्रचन्ड ले आफ्नु पहुच ढेखाउनु यो धर्म बिपरित छ । तेसैले साथी हरु प्रचन्ड लाई धर्म बिनास को मुढा लगाएर फासी या जन्म कैद गर्नु पर्छ । नत्र पछी हाम्रो कला सस्क्रिती नै लोप भएर जान्न्छ ।

पीजी said...

धर्म मान्दिन भन्ने व्यक्ति वा संस्थाले अरबौं जनाले अंगालेको धर्ममा "क्रमभंग" गर्ने काम गर्न नैतिकताले सुहाउदैन ।

सरकारको काम भनेको पुजारी नियुक्ती गर्ने होइन, पशुपतिको सुरक्षा प्रणाली वा आर्थिक नियमन वा अनुगमन गर्ने काम हो सराकारको। भ्रष्टचार गरेको वा अनियमितता गरेको छानविन गर्ने र कारवाही गर्ने हिम्मत गर्न छोडेर टेलिभिजनको अध्यक्ष नियुक्त गरे जस्तै पुजारी नियुक्त गर्न थाल्ने हो भने यो सरकार विना ट्रयाकमा हिडेको रेल जस्तै हो, जसको कुनै गन्तव्य छैन, जहा जे भेट्यो त्यहि गर्छ ।

पशुपतिनाथ असंख्य हिन्दुहरुको एउटा महत्वपुर्ण तिर्थस्थल हो । भारत मात्र नभएर अमेरिका, युरोप देखिका हिन्दुहरुले समेत नेपाललाई जत्तिकै पशुपतिनाथलाइ चिन्छन । अर्को अर्थमा यो पनि एउटा धार्मिक पर्यटन भनिने आयस्रोत को मुख्य बाटो हो र भविष्यमा अझ यसको महत्व बढाउन सकिन्छ । त्यसैले धार्मिकस्थललाई धार्मिक स्थलकै रुपमा व्यवस्थापन गर्नु पर्छ हस्तक्षेप हैन अनुगमन गर्नु पर्छ ।

Anonymous said...

ठरकी जि को लेख जती आकर्षक भयो कमेन्टहरु पनि उत्तिकै आकर्षक भए। लुन जी को ब्यख्यान र हिमाल पारी र पान्डाको माओबादी निती ठिक लाग्यो।
बसन्तजीको प्रष्टाइ सारै चित्त बुझ्यो। हुंदा हुंदा पशुपतीनाथलाइ पनि भर्ती केन्द्र बनाइयो।
भारती पुजारी फेरेर नेपाली पुजारी राख्नु भनेको भारती गाडी जलाएर राष्रवादको टोपी लगाउनु जस्तै हो।

ठरकि दादा said...

प्रतिक्रियाको लागी सबैलाई धन्यवाद् ।

लुना जी को रबर छन्दको कविता साँच्चै मैले राम्ररी बुझीन र वहाँ मसंग सहमत वा असहमत के हुनु भयो समेत भेउ नपाएकोले त्यसबारेमा केहि नबौलौं जस्तो लाग्यो ।

बसन्तजी को तर्क र उहाँले उठाउनु भएको कुरामा भने पूर्ण सहमत छु । तात्कालीन अबस्थामा भारतिय पुजारि अहिलेको सरकारी ठेक्कामा हुने जस्तो भारतीय ठाडो दबाब वा चलखेलका कारण राखीएका होईनन । त्यसैले यदि प्रक्रिया पुर्‍याएर आफ्नै देशका पूजारी राख्ने हो भने पनि उ बेलामा आफुले आग्रह गरी ल्याएको मान्छेलाई अहिले ससम्मान फर्काउनु पर्ने हो । यो जात्रा गरेर होईन ।

देशका सिमाना मिचीँदा चुप लागेर बस्नेले यो पशुपतिको यौटा पूजारी तर्साएर राष्ट्रवादी बन्न खोज्नुको कुनै अर्थ नै देख्दिन म त। धर्म र राजनीति भनेको विल्कुल भिन्न कुरा भएकोले बसन्तजीले भन्नुभए जस्तै आम्दानीको सही लेखा राख्ने र निश्चित रकममात्रै तलबको रुपमा पूजारीलाई दिने हो भने न पूजारी बदल्नु पर्छ, न त यो राष्ट्रवादको खोक्रो ढोंग नै गर्नु पर्छ ।

पाण्डाजीले भन्नुभएजस्तै धर्म मान्ने वा नमान्ने हक सबैलाई छ तर आफुले मान्दिन भन्दैमा करोडौंको आस्थामा चोट पुग्ने काम गर्न कसैले पनि हुँदैन । हामीमध्य पनि कोहि हिन्दू, कोहि मुश्‍लिम, बु्द्धीष्ट वा कोहि क्रिस्चियन हुन सक्छौं, त्यो आ-आफ्नो आस्थाको कुरा हो र त्यसमा आफुले नमान्ने धर्म भन्दैमा कोहि पनि आर्को धर्ममा ठाडै प्रहार गर्दै हिड्दैनौं पनि ।

नेपालका मन्दिर, मश्जिद, गुम्बा र चर्चहरुमा पूजारी, मुल्ला, रेङपोछे र फारदको नियुक्ति यो गाईजात्रे तालले गर्ने कुरै होईन । निगरानिको हदसम्म गरिने सबै क्रियाकलापको म स्वागत गर्छु भने स्वतन्त्र व्यक्ति भएको नाताले धर्ममै पनि हस्तक्षेप सहन सक्दिन (भलै त्यो धर्ममा मेरो आस्था होस वा नहोस)।

हिमाल _ पारीजी, यस्तै ताल हो भने यिनीहरु को हालत साँच्चै "ज्ञानेन्द्र पथ" नैहुनेछ।
पून सबैलाई अमुल्य समय दिई विचार व्यक गरिदिनु भएकोमा धन्यवाद् ।

Anonymous said...

बसन्त जि !
भने पछी तपाईंले मलाई माबोबादी बनाइ दिनु भो हैन ? साधुबाद तपाईंलाई ।
" आफू भन्दा फरक बिचार राख्ने लाई 'रास्ट्र घाती ' र 'प्रतिगामी ' देख्ने महान माबोबादी रोग तपाईंमा पनि सल्केको रहेछ -----
गलत ! गलत ! गलत ! मैले यहाँ कसैलाई पनि फरक बिचार राख्नु भएकोले त्यसो भनेकी छैन ।
मेरो सोचाइ मा जस्ले राष्ट्र को घा त गर्छ उु राष्ट्र घाती हो र जो गणतन्त्र लाई ध्बस्त बनाउन भित्र भित्रै लागि पर्या छ त्यो प्रतिगामी हो ।
मुलुकको हितको लागि उचित कुराको समर्थन गर्न कन्जुस्याइ गर्नु हुँदैन चाहे त्यो माबोबादिले गरेको होस् या राजा बादिले ।
पशुपती नाथको दान कुम्ल्याउदै भ्रस्तचार मा मुछिएका भ ट्ट गण हरुको बिरोध मा धेरै पहिले देखी नै धेरै देश भक्त नेपालीहरुको आबाज एउटै थियो । त्यहा परिवर्तन हुन जरुरी थियो । पारदर्शी हुन जरुरी थियो ।
यहाँ जन्जाल थियो - जाल - झाल थियो । अहिले को सरकारले फाडिदिदै छ ।
केही परिवर्तन भो तर भयन्कर ठुलो परिवर्तन भो । यो राम्रो कामको धक्का अन्य पार्टिहरुलाई लाग्ने भो । भोली जनता ले जस अहिले को सरकार लाई दिने भो । त्यसैले यहाँ सरकार ले गरेको राम्रो कुरामा पनि नराम्रो राजनीति शुरु भो ।
यस्तै राजनीति कुराहरुले नै मुलुक लाई घा त् गरिरहेको छ । एउटा पार्टिले राम्रो गर्‍यो कि अन्य उु प्रती आस्था नराख्ने हरुले सिट्टी बजाउन शुरु गरी हाल्नु पर्ने !!!बरु ताली बजाएर इमान्दारिपूरबक हौसला दिए पो त्यो मुलुक र मुलुक बासिको हितमा हुन्छ ।
यहाँ त का मै गर्न नपा उने बा !!!!!!!!!!!!
ठ र कि दादा जि !
" रबर छन्द " त मैले पहिलो पटक सुन्दै छु , मैले पनि बुझिन ।
अब तपाईंको लेख मा स हमत - असहमत त त्यो त अहिले तपाईंले बुझी हाल्नु भो ।
सरकार ले गल्ती गर्छ भने त्यो गल्तिको बिरोध दश हात अगाडि बढेर गर्नु पर्छ र सरकार ले ठीक काम गर्छ भने त्यसको समर्थन गर्न पछाडि हट्नु हुँदैन ।
मेरो त यस्तै सोचाइ छ । सोझो र सत्य सोच्ने ले खुब गाली खानु पर्दो रहेछ !
गाली खाए - कुनै गुनासो छैन ।
( अन्तमा म माबोबादी समर्थक होइन र अहिले सम्म कुनै पनि पार्टी समर्थक भएकी छैन अन्धो रुपले तर सरकार मा जो छ उस्ले यदी राम्रो गर्छ भने समर्थन गर्नु पर्छ - नराम्रो गर्छ भने बिरोध गर्नु पर्छ । त्यो मुलुक हुँदै मुलुक बासी सँग सम्बन्धित हुन्छ र हामी नै मुलुक बासी हौ र हाम्रा भोलिका स न्तती पनि मुलुक बासी हुन । त्यसैले सबै भन्दा पहिले राष्ट्र अनी सबथोक अर्थात पार्टी -- )

Basanta said...

लुनाजी,तपाईँ 'माओवादी समर्थक' भन्ने मेरो ठम्याई गलत रहेछ। यसका लागि माफी चाहन्छु। तर तपाईँले माथि राख्नुभएका विचारहरुसंग म अझैपनि सहमत छैन।

राष्ट्रको घात गर्ने मान्छे राष्ट्रघाती हो, यसमा कुनै शंका छैन। को राष्ट्रवादी र को राष्ट्रघाती, यो समयले देखाईरहेकै छ र देखाईरहनेछ। तर पशुपतिनाथको पूजारीको नियुक्ति पारदर्शी पाराले होस् र त्यहाँ राजनीति नघुसोस् भनेर माओवादीको टिके पजनीको विरोध गर्ने भण्डारीहरु र अरु सबै हिन्दू नेपालीहरु राष्ट्रघाती हैनन्, राष्ट्रवादी हुन्। यो मुद्दा-यो विरोध भारतीय पूजारी र नेपाली पूजारीको मुद्दा हैन, नयाँ परिश्थितिमा बसालिनुपर्ने तर नबसालिएको प्रकृयाको बारेमा हो भनेर यति धेरै चिच्याऊँदापनि तपाईँहरुले बुझेको नदेख्दा उदेक लाग्छ।

अहिलेसम्म पशुपतिनाथमा उठ्ने दान-दक्षिणा-भेटीको कति भाग कल्ले खान्थ्यो, कति दरबार जान्थ्यो, कति घरबार जान्थ्यो भन्ने कुराको छानबीन हुनुपर्छ र आइन्दा त्यस्तो हुन नसक्ने पक्का गरिनुपर्छ। राजदरबार जाने (यदि हो रहेछ भने) पैसो लालदरबार गयो भने त्यो क्रान्ति हैन, सामन्तवादकै निरन्तरता हो। अहिले शुरु गरिएको अपारदर्शिताले त्यहि भविष्यको संकेत गर्छ। भट्टले सबै कुम्ल्याऊँथे भनेपनि तीनको भन्दा बढी दोष हाम्रो शाशन-संयन्त्रको हो। अब अहिले आएर 'भट्टले खाएजति छेराऊँछु' भन्ने खालले चिच्याएर केहि हुन्न। हाम्रो राष्ट्रवादी उर्जाको दुरुपयोगमात्रै हो त्यो। जुन विधि‍-परम्परा अन्तर्गत ती रहेका थिए, त्यसैअनुसार बसे, खाए। अब बसालिने नयाँ विधि कस्तो हुने, पूजारीमा के के योग्यता हुनुपर्ने जस्ता कुरामा ब्यापक छलफल हुनुपर्छ जस्तो तपाईँलाई लाग्दैन? के आधारमा विष्णु दहाल योग्य र अरु अयोग्य? उनको पृष्ठभूमि कस्तो छ? अहिलेसम्म तपाईँलाई उनको बारेमा केहि थाहा छ? यी कुरा गर्दा कसरी राष्ट्रघाती भईयो?
राष्ट्रवादको नाममा पशुपतिका पूजारीको खेदो खन्नुले हाम्रो लघुताभाष र अपरिपक्वतालाई दुनियाँको सामु राखिदिएको छ। तोकिएको तलब खाएर बसेभने ती पूजारी हाम्रो राष्ट्रियताका लागि कसरी खतरा हुनसक्छन्? आफूलाई एक नम्बर राष्ट्रवादी भन्ने माओवादी सरकारमा आएपछि कालापानी वा सुस्ताको बारेमा कति बोल्यो? कोशी-संकटलाई फेरि दोहरिन नदिन भारतलाई के गरायो? राष्ट्रवादको उर्जालाई यस्ता सानातिना सजिलै समाधान हुनसक्ने कुराहरुमा लगेर किन उल्झाईएको हो?

प्रतिगामी बारेको तपाईँको परिभाषा "जो गणतन्त्र लाई ध्बस्त बनाउन भित्र भित्रै लागि पर्या छ त्यो प्रतिगामी हो" पनि बच्काना र अधूरो छ। गणतन्त्रका धेरै रुप हुनसक्छन्। भारत, अमेरिका र फ्रान्सपनि गणतन्त्र हुन्; जिम्बाब्वे, उत्तर कोरीया, क्यूबा र म्यान्मार पनि गणतन्त्रनै हुन्। गणतन्त्रका नाममा उत्तर कोरीयामा किम वंश र क्यूबामा क्याष्ट्रोवंशका दमनकारी लाल-राजतन्त्र शुरु गरिएका छन्। मुगाबेले जति चुनावमा हारेपनि कुर्सी छोड्ने नामै लिँदैन। म्यान्मारमा कठोर सैन्य-तानाशाही छ। तपाईँले चाहेको गणतन्त्र कस्तो हो? माओवादीका दस्तावेजमा लेखिएका कुरा पढ्दा र केहि माओवादीहरुको 'जनगणतन्त्र'को कुरा सुन्दा उनीहरुले ल्याउन चाहेको गणतन्त्रको सार उत्तर कोरीयासंग मिल्न आऊँछ। त्यसैले मैले उनीहरुलाई सबैभन्दा बढी प्रतिगामी भनेको हुँ।
उसो त राजतन्त्र हुँदैमा कुनै देश, समाज प्रतिगामी भईहाल्ने कुरा पनि होईन। यूरोपका धेरै देशमा राजतन्त्र छन् र पनि ती देश हामीभन्दा धेरै अग्रगामी र प्रगतिशील छन्। बिभिन्न ऐतिहासिक कारणहरुले गर्दा हामी गणतन्त्रमा आईपुगेका छौं। यसलाई अझ बढी प्रतिष्पर्धात्मक, सहिष्णु र लोकतान्त्रिक बनाउनुको विकल्प छैन।

"जो गणतन्त्र लाई ध्बस्त बनाउन भित्र भित्रै लागि पर्या छ त्यो प्रतिगामी हो" त भन्नुभयो तर गणतन्त्रलाई ध्वस्त बनाउन बाहिरैपनि खुल्लमखुल्ला लागेकाचाहिँ के हुन् नि?

Rajan said...
This comment has been removed by the author.
Rajan said...

मेरो विचारमा कुरा एकदम प्रष्ट छ, पशुपतिमा भएको यो विबादलाई कुनै पनि हालतमा राष्ट्रियताको रंग दिन मिल्दैन। यस बारेमा ठरकि दादा र माथि बसन्तजी अनी पाण्डा जीले प्रयाप्त ठोस तर्क र यथार्ततालाई औंल्याईसक्नु भएको छ ।

हामि मानवसमाजमा बस्छौं र अहिले १२औ, १३औ शताब्दिमा छैनौं भने कसले के गर्‍यो मात्रै हैन कसरी र किन गर्‍यो पनि हेर्नु नितान्त जरुरी छ। माथि लुनाजीले “सरकार ले ठीक काम गर्छ भने त्यसको समर्थन गर्न पछाडि हट्नु हुँदैन” भन्ने लेख्नु भएको रहेछ। अरु काम त कहिले र के ठिक गरे माओबादिले मलाई भने थाहा छैन तर यो पशुपति काण्डमा भने के त्यस्तो “ठीक” के काम गर्‍यो माओबादिले मैले पनि बुझ्न सकिन।

दिउसै गुण्डा लगाएर धार्मिक व्यक्तिलाई चुटनु राम्रो काम हो की?
आफै सरकारमा बस्ने अनी आफैं अदालतको आदेश मान्दिन भन्नु राम्रो काम हो की?
पशुपति नै नया बनाउछौं भन्ने बचपना तर्क राम्रो हो की?
कि नाश्तिक नै भएपनि मन्दिरमा पनि आफ्नै कार्यकर्ता राखेर बसन्त जी ले भनेको जस्तै राजदरबार बाट लालदरवार तर्फ नगद कुम्ल्याउनु राम्रो काम हो की?

मलाई लाग्छ, सरकारले अहिले एकदमै तदारुकताकासाथ गर्नु पर्ने र यो भन्दा अत्यन्त जरुरी काम धेरै छन र पशुपतिको धनमा गिद्दे नजर लाउने बेला हैन यो।
ल जा!, कसैले राष्ट्रघाति वा प्रतिगामी भने नि भनुन तर भारतका पूजारी पशुपतिमा बस्नु नै समस्या भने हुँदैं होईन ।

Anonymous said...

अपा रदर्शी बनेर
साँढे भाईसकेका भ ट्ट गण लाई
तलब मा राख्न सके
पारदर्शी हुन सक्ने थियो रे !!!!
यो त कस्तो कुरा भो भने नि ,
साँढेलाई ' छु मन्तार ' गरेर
मुसा बनाएको जस्तो कुरा भो ।
भ ट्ट गणहरुको भ्रस्ट्चार मा
आस्रित ब्बासाहरुको पेट भोको हुने देखेर
हामीलाई द या लाग्नु पर्ने कुनै कारण देख्दिन म
करोडौ आस्था हरु बाट
पशुपतिनाथ मा भएको दान मार्फत
द या गरिनु पर्ने यहाँ धेरै ठाउँ हरु छन
अस्पातल - स्कुल - बुढा बुढी को स्याहर सम्हार केन्द्र आदी इत्यादी --
त्यसमा भरपूर सहयोग हुन सक्छ
पशुपती नाथमा भएको दान पारदरशी भएमा ।
बडो अचम्मै को कुरा
भारतीय नेताले आ गो मा घिउ थप्नु भएको छ
धर्म को नाममा द्ङा बाजी गर्ने बानी परेका हरुले
छेप्यास्त्र छोड्दै छन ----
बडो खेद को कुरा !
हाम्रा नेताजी हरु बुझेर बुझ्पुचाउनु भएको छ
भारतीय नेताले खुट्टा उचाल्दा
ताता थै या - ताता थैया गर्न था लि सके -----------------

Anonymous said...

लुना जीलाइ म अराष्ट्रबादीको प्रश्न
के नया नेपाल बनाउन साढे फोरेर मुसो नै बनाउनु पर्दछ?
हतौडा छ भन्दैमा कानुकको खिलाफ
जता जतै तोड्दै फोड्दै हिड्नु आतंकारी काम होइन?
के २ जना ब्राहमण मात्र नेपाली हुन?
अरु नेताको भारत दौडलाइ उछिनेर बेतुकको पहिलो राजनितकिक भ्रमण भारत नै गर्ने प्रचण्डको के
थैंया थैयां नभएर छैंया छैंया हो त?
दाया बाया कुरो नतन्काइ सिधा उत्तर दिनुहोला। यि प्रश्न सिधै तपाइको माथिल्लो कमेन्टसंग मात्र संबन्धित छन।

पीजी said...

कुनै बेला राजाले शासन हातमा लिंदा धेरै नेपालीहरु, अझ विदेशमा बस्नेहरुले पनि केहि होलाकि भनेर खुशी भएका थिए ।

त्यस्तै माओबादिले केहि गर्छ कि भन्ने आशा पनि धेरै नेपालीलाइ थियो , होइन भने भांच्ने, कुट्ने, पड्काउने, रेट्ने, सफाया गर्ने आदि कार्यका उस्तादहरुले सिंहदरवारको सांचो पाउंदा कोहि पनि खुशी हुने थिएन होला । अर्थात भन्न खोजेको के हो भने नेपालीहरु यति आजित भइसकेका छन कि अझ जंगी शासन आउंछ भने पनि "केहि होला कि" भनी खुशी हुंनेछन । अर्थात राम्रो परिवर्तनको आशामा हामी नेपाली संधै केहि होला कि भन्दै बहकिन बाध्य छौं ! त्यसैले लुनाजी पनि देशलाई माया गर्ने मध्यमा पर्नु हुन्छ जस्तो लाग्छ ।

अब अर्को पाटो, भारतीय पुजारीले भ्रष्टाचार गर्छन नै भन्ने मात्र छैन । दक्षिण भारतका ठुला ठुला मन्दिरहरुमा रसिद काटेर दर्सण पुजा आजा गराइन्छ, अर्थात नेपालमा जस्तो भगवान संग समेत घुस लिने चलन केहि ठुला मन्दिरहरुमा छैन ।

मैले पहिले पनि भनिसके पशुपतिनाथको मन्दिर र साझा यातायात एउटै होइनन । त्यसैले जी एम परिवर्तन गरे जस्तै पुजारी परिवर्तन गर्ने कुरामा म १००% सहमत छैन । नत्र अब सरकार परिवर्तन हुने वित्तिकै पुजारी परिवर्तन हुने नजीर बस्छ । पुजारी पुजारी नभएर राजनैतिक लठैत बन्छ र यी सब कुराहरुले धर्म र संस्कृतिको रक्षा होइन मन्द विषले जस्तै हाम्रा परंपरा, धर्म र संस्कृति नष्ट गर्छन । अनि भारतका हिन्दु नेपाल होइन धर्म र मन्दिर खोज्दै नेपालका हिन्दुहरु भारत जानु पर्ने अवस्था आउंछ । यसबाट फाइदा कसलाई हुन्छ भन्ने कुरा अहिले बुझेको छैन भने माओबादि अबुझ हो र बुझेरै यस्तो गरिरहेको छ भने माओबादी राष्ट्रीयताको खोल ओढेको राष्ट्रघाती हो भन्ने भन्न मलाइ संकोच लाग्दैन ।

त्यसैले पुजारी भनेको धार्मिक समितिले नियुक्त गर्नु पर्छ, सरकारले होइन । भारतीय पुजारीले पुजा गर्न पाउंदैन भन्ने छैन, हिन्दु धर्मको नियम अनुसार र पशुपतिनाथको नियम अनुसार जो योग्य छन उनीहरुले पाउंछन । यो राष्ट्रपति चुनेको जस्तो विषय पनि होइन र सरकार संग भन्दा हिन्दुहरुसंग सरोकार राख्ने विषय हो, त्यसैले पुजारी हटाएर यसमा राष्ट्रबाद झल्किनु पर्ने कुनै कुरा देख्दिन म । हो पुजारीले गलत काम गर्छ भने विधी पुर्याएर हटाउने र नया चुन्ने गर्नु पर्यो ।

१ वर्ष पहिले माओबादि जति सक्षम र परिपक्व छ जस्तो लागेको थियो, अहिले ठिक त्यसको उल्टो बुझ्न बाध्य भएको छु म । नया नेपालमा प्रकृया, नीति, नियम, अनुशासन र प्रणाली केहि मात्रामा भए पनि सुध्रिन्छ कि भनेको १ वर्षमा मातृका देखि क्रमभंगीहरुले सबै कुरा छर्लंग देखाइदिएका छन ।

ठरकि दादा said...

टिका टिप्पणी जारी रहँदा मैले भन्न खोजेका वा अब फेरी भन्नु पर्ने धेरै कुरा माथि बसन्तजी, राजनजी अनी बिप्लबजीले भनिसक्नु भएको छ । केहि नबुझेका वा बुझेर पनि नबुझेकालाई कुरा अझ खुलस्त गर्दा, यहाँ “भारतिय पूजारी” हटाएकोमा बिरोध हैन “पूजारी” हटाएको बिरोध मात्रै छ । यो त आफुलाई मन नपरकोलाई हटाउने र नजराना टक्रयाउन सक्नेलाई काममा खटाउने, त्यो पनि नियम कानून र देशकै सर्बोच्च अदालतको निर्देशलाई पनि नटेरने लिंढे जिद्दीका कारण उत्पन्न भएको समस्या हो ।

आजसम्म “बर्तमान नियम बाधक भए नियम मिचेर काम गर्न मन्त्रालय माताहतका निकायलाई निर्देशन दिएको” बताउने माओबादीको यो कदमको कुनै पनि सचेत नागरीकले कसरी समर्थन गर्न सक्छन?

गणतन्त्र भनेको के यस्तै कानून मिचेर जबर्जस्ती गर्ने व्यबस्था हो र ? ।

आजैको कान्तिपुरमा नेपाली भूमि मिचेर भारतद्वारा एसएसबी क्याम्प भन्ने समाचार पनि छ। यसरी सार्बभौमिकतामा ठाडो प्रहार हुँदा भने हाम्रा राष्ट्रवादी नेताहरुलाई कुनै चित्त दुखाई छैन, तर बेक्कारमा एकजना निहत्था पूजारी(जसलाई बिगतमा हामिले नै आग्रह गरेर ल्याएका थियौं) बलीको बोका बनाएर माओबादीहरू भयकंर राष्ट्रबादी बन्ने तरखरमा छन ।

ठूला ठूला गल्ती गर्ने र हल्का वक्तव्य दिएर पन्छन खोज्ने माओबादीका पुराना बानी हुन ।

शायद, अरु नेताहरु त भारतीय नेताले खुट्टा उचाले पछि मात्रै ‘ता-ता-थैया’ गर्थे होलान, तर माओबादीले त मालिकलाई ‘पाउ-कष्ट’ होला भनी उनले खुट्टा उचाल्नु अगाडि नै कत्थक गरेर देखाईसकेको हामि सबैले देखि पनि सक्यौं । चीनको पहिलो भ्रमण गरेर ‘क्रम भंग’ गरेको एकसाता नबित्दै त्यो भ्रमणलाई “खेलकुद भ्रमण” बनाएर माओबादीले के गरे त्यो यहाँ ! पनि छ ।

ठूला ठूला गल्ती गर्ने र हल्का वक्तव्य दिएर पन्छन खोज्ने माओबादीका पुराना बानी हुन । यौटा पूजारी, पुरोहित वा ढोकेलाइ गुण्डागर्दिबाट हटाएर राष्ट्रवादीको ‘श्रिपेच’ भिर्ने खेल बेक्कार हो ।

फुर्सद हुने साथिहरुले यो पनि हेर्नु होला:-

… देखेँ

… देखेँ २

ठरकि दादा said...

पाण्डाजी !, तपाइको थप कमेण्ट र विचारकोलागी पून धन्यबाद् ।
पशुपतिनाथको मन्दिर र साझा यातायात एउटै होइनन
मलाई डर लागेको पनि त्यहो हो यस्तै चलेमा अब सरकार परिवर्तन हुने वित्तिकै पुजारी परिवर्तन हुने नजीर बस्छ अनी पशुपति धर्म क्षेत्र हैन कुरुक्षेत्र बन्छ ।

Basanta said...

लुनाजी, कुरो कति लम्ब्याईरहनु, भट्टहरु साँढे हुँदै-होईनन्; हाम्रो कच्चा राष्ट्रवाद र लघुताभाषको आँखाले हेर्दा मात्रै उनीहरु साँढे देखिएका हुन्। उनीहरु न नेपालका नीति-निर्माता हुन् न कहिल्यै नीति-निर्माणमा हस्तक्षेप गरेका छन्। दोष तपाईँ-हामी नेपालीको हो। भारतको राजनीतिमा तीनको पहुँच दह्रो छ र त्यसलाई प्रयोग गरेर हामीलाई लात हानेका छन् भन्नु पनि सोह्रै आना बेतूक हो। केहि भारतीयले यो कुराबाट केहि मानसिक तुष्टि लिएका होलान् तर अलिक उदार सोच हुनेले यस्ता तुक-न-तालका कुरा गर्दैनन्।

तपाईँलाई थाहै होला, समग्र दक्षिण एशियालाई भारतवर्ष भनिन्थ्यो पहिला र हिन्दू धर्म-सभ्यता-संस्कृति त्यहि भारतवर्षको निधि हो। हिन्दू धर्म अहिलेको नेपाल र भारतभन्दा धेरै पूरानो छ। जति इतिहासमा पसेपनि पशुपतिनाथको उत्पत्तिको भेऊ लाग्न सकेको छैन। त्यसकारण धार्मिक-सांस्कृतिक विधि र तीसंगै जोडिएर यस्ता पूजारीआदिको आदानप्रदान भईरहेको हुन्छ। पूजारीमात्रै किन देवताकै हकमा समेत यस्ता कथा पाईन्छन्। मछिन्द्रनाथ कामरुप कामाक्षबाट नेपाल उपत्यकामा ल्याईएका हुन् भन्ने कथा सुन्नुभएकै होला। मेरो तात्पर्य के हो भने, धर्म राजनीतिक-भौगोलिक सिमानामा बाँधिएर बस्दैन।

दक्षीण भारतका भट्ट पूजारीहरु भारतले हामीलाई लादेको होईन, हामीलेनै ससम्मान ल्याएका हौं। ती भट्ट पूजारीहरु एउटा निश्चित परम्परा र विधानले दिक्षित हुन्छन्। मेरो विचारमा त तिनलाई निरन्तरता दिनुलेनै धार्मिक समन्वयप्रति हाम्रो सहिष्णुता देखाउनेछ।

भ्रष्टाचार नियन्त्रण गर्ने कुरा नेपाल सरकारको हो। भट्टले त्यसमा विरोध गर्लान् भन्ने मलाई लाग्दैन। पहिला राजदरबारले अवरोध तेर्स्याएको हुनसक्छ, अब त त्यो पनि छैन। पींध नभएको माओवादी अझै त्यहि मरेको वाघलाई आफ्नो असक्षमता र कुनियतको दोष लगाऊँछ भने 'राम! राम!' भन्नुबाहेक केहि गर्न सकिँदैन। त्यसकारण मूल कुरो पशुपतिनाथको आम्दानीलाई पारदर्शी बनाउने हो। यति हुने हो भने अरु कुरा आफैं ठीक ठाऊँमा आऊँछन्।

Postak_Shrestha said...

हैन, भारतीय भट्टहरुलाई सरकारले निकालेको भनेर कतै लेखेको देखिन नि। उनीहरुले आफैँ राजीनामा दिएका होइनन् भन्या? उनीहरुलाई निकालेको भनेर बिरोध भा'को पनि होइन क्यारे। बिरोध शुरु त्यस बेला भयो जब सरकारले राजनैतीक पाराले नयाँ पुजारीहरुको नियुक्ति गर्यो। राजनैतीक पार्टीहरुले नियुक्ति पारदर्शी हुन पर्यो भनेर बिरोध गर्नु पनि युक्तिसंगत नै देखिन्छ तर बिरोधको पहिलो पंक्तिमा हिजो भट्टहरुसंगै मन्दीरमा हालीमुहाली गर्ने भन्डारीहरु देखिनु, सुद देखि अडवाणीहरु देखि कमल थापादेखि भूपु महाराजसम्म वक्तब्यबाजीएमा उत्रिनु र बिस्तारै बिस्तारै संसार भरिबाट हिन्दुत्व जाग्नु उदेक लाग्दो नै छ। यो बिरोध नया नियुक्तिको बिरोधमा भएको हो कि पुरानैलाई पूनर्स्थापना गराउन भएको हो, छुट्ट्याउनै गारो भयो। अन्तत: प्रमले नया नियुक्ति बदर गरिदिएका छन् र पुरानैलाई पूजा सन्चालन गर्न भनेका छन्। माओबादीले पशुपतिको आम्दानीमा कब्जा जमाउने हिसाबले आफ्ना कार्यकर्ता भर्ति गरेको भए जरुर बिरोध गर्नु पर्छ, होइन भने पूजा भन्ने कुरो जसले गरे पनि हुन्छ। पशुपतिको लिंगलाई यसले छुन हुन हुन्छ, त्यसले हुन्न, पुजा बिधि यस्तो हुन्छ, त्यस्तो हुन्न भन्ने कुराहरु मिथ्या हुन्। भगवान आस्थामा हुन्छ, बिश्वासमा हुन्छ, न कि कुनै पुजा बिधिमा वा पुजारीमा। सौताको रीशले पोइको काखमा...... भने जस्तो नया नियुक्तिको बिरोधमा मन्दीरमै ताला चाबी लगाउने भण्डारीहरु र भट्टहरुको शिव प्रति कस्तो आस्था, कस्तो भक्ति? फेरी कुनै राजनैतीक कलाकौशल्, सुझबुझ नदेखाई जबर्जस्ती ताला खोल्ने, भण्डारीहरुसंग लाप्पा खेल्न जाने माओबादीहरु पनि उस्तै हुन्।
जे होस्, नया पुजारीहरुको नियुक्ति पछि तीन् दिनमा कोषमा एक् लाख रुपिया जम्मा भएको छ रे। त्यस हिसाबले एक् बर्षमा कम्तीमा पनि एक् करोड रुपिया आम्दानी हुँदो रहेछ। अब पुजारीहरु पुरानै रहुन् वा नयाँ आउन, खासै मतलबको कुरा भएन, तर नीति नियम राम्रो संग तर्जुमा गरी, मन्दीरको आम्दानीमा भट्ट र भण्डारीको लुटलाई अन्त्य गरी त्यो रकम राज्य कोषमा दाखिला चाँहि हुन पर्यो। माओबादीले पनि कहिं नभाको आफ्नो राष्ट्रबादी चरित्र पशुपतिमा देखाउने होइन र अरु पार्टीले पनि कतिखेर माओबादीलाई अंचेड्न पाईन्छ भनेर ताक खोजेर बस्ने होइन। काम् कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर भने जस्तो संबिधान निर्माण, माओबादी सेनाको ब्यबस्थापन, तराई समस्याको समाधान, उर्जाको समस्या निराकरण जस्ता महत्वपुर्ण कुरामा ध्यान केन्द्रित हुनपर्नेमा हाम्रो सरकार-प्रतिपक्ष एउटा कम महत्वको बिषयमा अल्झिएको छ।

Anonymous said...

यो त नेपालको बाइकको हेलमेटको नियम जस्तो घरी लाउने घरी फुकाल्ने। यस्ता बिबास्पद काममा अल्झीनु भन्दा अरु नै राम्रो काममा गरे हुन्थ्यो। भोका पेट धेरै छन नेपालमा उता तिर ध्यान गयो हुन्थ्यो।
धेरै निकम्मा सरकार देखियो माओबादी सरकार त झन नं १ निकम्मा होला जस्तो छ।

Anonymous said...

" भारतीय नेता हरु को गर्जन सँगइ ताता थैया गर्ने सम्पूर्ण मा समर्पित --"
--------------------
भारतीय नेताहरु सँग
समागममा लि न हरु !
एक दिन तिम्रो बैश
जस नपाएर ढल्छ
त्यो तिमीले किन सोचेनौ ???
एक दिन तिमी मर्नै पर्छ
यही नेपाल आमाको छातीमा
त्यो तिमीले किन सम्झेनौ ???
आफ्नै आमालाई दाग लगाउने हरुको निम्ती
तिमी बि स्तारा बनी दियौ !!!
धिक्कार तिम्रो बुद्दी !!!
लालच लोभमा
कुकुरले हड्डिको आश गरे झै
आस गर्यौ तिमीले
निगाह मा बाच्ने जात
दास हुन्छ
त्यो तिमीले किन सोचेनौ ?
उस्ले खुट्टा उचाल्दैमा
तिमीले ताता थैया गर्यौ !
तिम्रा घुघुरुका आबाजले
नेपाल आमाको छातीमा कम्पन गएको छ
नेपाल आमाको सन्तान तिमीले
कसरी महशुस गरेनौ ???---

Basanta said...

Postakजी, तपाईँले भन्नुभएजस्तै भारतीय पूजारीलाई हटायो भनेर विरोध भएको हैन, माओवादीले आफ्नो खल्तीको पूजारी राख्यो भनेर हो। लघुताभाषले ग्रस्त हाम्रा केहि 'कच्चा' राष्ट्रवादी स्वदेशी बन्धुहरुले यहि पूजारीको 'केस'लाई नै हाम्रो देश रहने वा नरहने मुद्दा बनाइदिए। अरु जटिल र संगीन मुद्दाहरुमा खर्चिनुपर्ने देश र जनताको उर्जालाई झण्डै दुई हप्तासम्म यस्तो काइते कुरामा अल्मल्याइयो। पशुपतिनाथको आम्दानीलाई पारदर्शी
बनाउने प्रकृया शुरु गरेको भए सबैले स्वागत गर्थे। तर यहाँ एउटा परम्परा गलत भएको निहुँ बनाउँदै अर्को गलत परम्परा शुरु गर्ने दाउ राखियो। विरोधको कुरामा, जस्ले जतिखेर थाहा पायो, त्यतिखेरैबाट विरोधमा लाग्यो, अब थाहै नपाई त केहि गर्ने कुरा भएन। जहाँसम्म भारतीयहरु, कमल थापाहरु वा अरु जो कोहि पनि विरोधमा आएर मिसियो भन्ने कुरा छ, कतिको नियत असल थियो होला, कतिको खराब थियो होला- 'धमिलो पानीमा माछा मार्ने' दाउ राखेर पनि भीडमा सामेल भएका थिए होलान्। तर 'पशुपतिनाथ नेपालमा छ, अरु देशकाले यसको बारेमा बोल्नै नपाउने' भन्ने कुरो चाहिँ बच्काना हो भनेर मैले माथि लेखिसकेको छु। १९९२ को डिसेम्बर ६ बाबरी मस्जीद भत्काईँदा म चीनमा अध्ययनरत थिएँ। चीनका धेरैजसो विश्वविद्यालयमा रहेका मुसलमान विद्यार्थीहरुले खाना खाने डाइनिङ हलमा बाबरी मस्जीदको प्रतिरुप बनाएर संघर्षमा प्रतीकात्मक रुपले सामेल भएका थिए। त्यसकारण धर्म राजनीति र भूगोलभन्दा माथि हुन्छ। धर्म भनेको मन्दिर र त्यसभित्रको सम्पत्तिभन्दा माथि नदेख्ने कथित 'मार्क्सवादी' सोच भएकाको दिमागमा यस्ता कुरा पस्दैनन् शायद।

लुनाजी, तथ्यहरुको प्रतिवाद तथ्यहरुलेनै गर्नुभएको भए राम्रो हुन्थ्यो, मनोवादले भन्दा। मैले माथि उठाएका कुराहरुमध्ये एउटाको पनि जवाफ दिनुभएको छैन तपाईँले। खैर, तपाईँलाई यस्तै रबर छन्दका मनोवादमै रुचि छ भने यो मनोवाद हामीजस्ता 'राष्ट्रघाती' लाई मात्रै नसुनाएर हामीजस्ता 'राष्ट्रघाती'का कुराका 'लहैलहै'मा लागेर आफ्नो निर्णय फिर्ता लिने प्रचण्ड र माओवादीलाई पनि सुनाए हुन्छ किनभने 'राष्ट्रघाती'का कुरा सुन्ने र मान्ने पनि 'राष्ट्रघाती' नै भए। यो मुद्दा यदि 'राष्ट्रवाद' र 'राष्ट्रघात' को मुद्दा थियो भने माओवादीले किन आफ्नो अडान त्याग्यो? सत्ताको दाउ लगाएर भएपनि उसले यस्को प्रतिवाद गर्न र आफ्नो अडानमा रहन सक्थ्यो। त्यसैले सम्भावना दुईटा मात्रै छन्; कि त यो मुद्दामा कुनै राष्ट्रवादी दम थिएन कि माओवादी पनि 'हामी' जस्तै 'राष्ट्रघाती' हो।

-उहि तपाईँको 'भारतीय नेताहरुसंग समागममा लीन', 'आफ्नी आमालाई दाग लगाउनेहरुको निम्ति बिस्तरा','लोभी, लालची', 'हड्डीको आश गर्ने कुकुर', 'निगाहमा बाँच्ने दास', 'ताता थैया'वाला

ठरकि दादा said...

“बुझेरै पनि बुझ पचाउनेलाई भेट”

‘भारतीय’ र ‘नेपाली’ बिचको कुरा
हुँदै होईन भनेर १०० जनाले
१०० पटक भन्दा पनि
मथीगंलमा नछिर्नेहरु!

कानूनको बिरुद्ध
अदालतको आदेशको बर्खिलाफ
बन्दुकको बलमा चल्नेको पनि
समर्थन गरेर
अझै आफुलाई राष्ट्रवादी भनेको देख्दा
भन्नेलाई भन्दा
सुन्नेलाई लाज लागेको छ

सुस्तामा ठाडो अतिक्रमण हुँदा
नलिक्लने राष्ट्रबाद,
आफ्नो सीमानामा
एसएसबी क्याम्प बन्दा नब्युँझने राष्ट्रबाद
पशुपतिको पूजारीमा निक्लन्छ।

अनी देशै भरी बिरोध हूँदा पनि
नहल्लेका निर्णयकर्ता
महामहिमको एक भेट पछि
पुरानै बाटोमा लाग्छन
गजब छ यिनको राष्ट्रबाद

(यसरी नै नलेखेकोले बुझ्न गाह्रो भा’को हो कि जस्तो लागेर मैले पनि यस्तै ‘कविता’ मा लेख्‍न खोजेको। यस्तो यौटा वाक्यलाई टुक्रा टुक्रा पारेर ४-४ लाईनमा भन्दा कविता बन्ने रहेछ कस्तो शुद्दी मेरो । यसरी वाक्य विच्छेद गरेर लेखीने पाठ्यांश लाई कविता भन्ने हो भने, म त दिनभरि नै यसरी नै कुरा गर्न सक्छु पो जस्तो लाग्यो मलाई त!)

अन्तमा, मन्दिरको आयको पारदर्शीता राखियोस, तर मन्दिरलाई राजनितिमा नधकेलियोस र सबै कुरा कानूनन होउन। कानून मिचेर र बल प्रदर्शन गरेर आफ्नो नियतलाई राष्ट्रबादको खोलमा ढाक्न खोज्नेहरु यसरी नै सधैं पराजित होउन ।

सच्चा राष्ट्रबादको प्रदर्शन गर्ने धेरै ठाँउ छ, त्यहा जानबाट यी नक्कली राष्ट्रबादीका खुट्टा नकामुन । भोलीका दिनमा कुनै अंग्रेजी स्कुलका प्रिन्सिपल र फादरहरुलाई पनि विदेशी भएकै कारणले हाम्रा राष्ट्रबादीहरुले नखेदुन (ति पूजारी र यि स्कुलका विदेशि फादरहरु करिव उस्तै हुन)

पशुपति काण्ड पनि हालको लागी मत्थर भैसकेको छ। अन्तमा पून एकपटक सबै सहभागीहरुलाई आफ्नो अमूल्य विचार व्यक्त गरिदिनु भएकोमा ह्रदय देखिनै धन्यवाद। नेपालीयन सर, मेरो विचारमा अब यो थ्रेडलाई क्लोज गर्दा पनि हुने जस्तो लाग्छ ।

जय नेपाल ! ( यो शब्द उच्चारण गर्दा पनि ‘कांग्रेसी’ रे’छ भन्लान भन्ने डर लाग्छ )

Anonymous said...

निकै समया सान्द्रभिक ब्लग भएर होला, यो लेखमा सायद अहिले सम्मकै बढी कमेन्ट प्राप्त भए। बाद बिबाद पनि टन्नै भए।
ठरकी सर लेख्ने तपाइ नै अब तपाइले नै कमेन्ट क्लोज गरुं भने तपाइकै मर्जी । हुन्छ यो लेखको कमेन्टलाइ सधन्यबाद पुर्णबिराम लगाऔं।

Basanta said...

स्वीकार छ मलाई साथीहरुको प्रस्ताब! अब अन्तै 'क्रमभंग' गर्नेतिर लागौं:)

Anonymous said...

बसन्त जि !
इट इज टु म च् ! के मैले तपाईं लाई नै ताकेर भनेकी थिए ? तपाईं कै नाम लिएकी थिए ? तपाईं को हो ? एउटा बाबुरो नागरिक जनता म जस्ताइ । तपाईं - हामी जनता नेपाल को । नेपाल का जनता पार्टी भने पछी पानी - प धे रो बारा बार गर्ने जातमा पारीरहेका छन अहिले सम्म । यो कुरा सत्य हो कि होइन ? हाम्रो देश मा छिमेकी बिच बोलचाल हुँदैन पार्टी को नाममा । धत ! हामी कती एनोसेन्ट छौ ! उता नेताजी हरु चप्पल र झोला बोकेर आउछन सिह दरबार खिरिलो दुब्लो जिउ लिएर अनी जब पार्टिको टा उके हुन्छन तब बि स्तारै हेर्नुस् बहाहरुमा परिवर्तन ----
हो , तिनै सम्पूर्ण टा उके नेताहरु लाई भनेकी छु मैले । तपाईं हामी जस्तो निर्दोस जनता लाई भनेकी छैन मैले किनकी तपाईं हामी त बाबुरो मात्रै हो । अब त कुरा बुझ्नु भो ? ! खुब मन दु खाएर लेख्नु भएछ !तपाइको दुखेको मनसँग माफ माग्न पनि सक्तिन किनकी मैले तपाईं को मनलाई दुख्ने गरी लेखेकी होइन । यो मेरो इमान्दारिता भित्र परेन ।
त्यो निर्णय तपाईंले हामीले गर्या हौ र ? त्यो निर्णय पछी रद्द तपाईं हामीले गर्या हौ र ?
राम्रो काम को शुरुबा त् भएको थियो , भारत लाई धेरै नै मन परेन किनकी त्यो उस्को स्बार्थ सँग सम्बन्धित थियो । हाम्रा नेता जि हरु भारत को ईशारा मा नाच्न था ले - नेपाल को हित मा काम गर्न खोज्ने ले पनि भारत कै बाणी बाँच्न ( बोल्न ) थाले ।
आज भारतीय अखबार मा नेपाल का नेताहरुलाई नग्गाएर लेखिएको छ उनिहरु को नेता जि को आदेश बमोजिम कार्य भएको मा । नेपाल को नेता जि नाग्गिनु हामी नाङिनु हो । किनकी ति हाम्रा प्रतिनिधि हुन । यस् अर्थ मा मैले तितो पोखेकी थिए ।
( मैले तपाईं लाई नै भनेकी भए यसरी दौतरी मा आउने शाह स - रहर किन गर्थे ? सोच्नुस् त ! )

Basanta said...

(प्रतिकृयाको श्रंखलालाई अन्त्य गरेको भएपनि एकपटक फेरि पस्दैछु यहाँ। लुनाजीसंग ब्यक्तिगत इ-मेल सम्पर्क भएको भए यो आवश्यक पनि पर्ने थिएन, उहाँसंग मात्रै कुरा गर्ने थिएँ।)
लुनाजी, यस्ता घटना/निर्णयहरुमा तपाईँ-हाम्रा मान्यता र धारणाहरु पनि जोडिन जाने हुँदा अलिक भावनात्मक मोड लिनु स्वाभाविक हो कुराकानीले। म बढी भावनात्मक भएको रहेछु भने माफ गर्दिनुहुन अनुरोध गर्दछु।
मैले कुनै कुरालाई पनि ब्यक्तिगत रुपमा लिएको छैन र कहिल्यै लिने खाल्को मान्छे पनि हैन। यो कुराकानी आ-आफ्ना धारणा राखेर गरिएको लोकतान्त्रिक अभ्यास थियो।
अन्त्यमा, तपाईँका भावपूर्ण लेखनी र प्रतिकृयाहरुको नियमित पाठकका रुपमा रहिरहनेछु।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !