January 15, 2009

के फरक छ राजतन्त्र, प्रजातन्त्र र जनबादी गणतन्त्रमा !

म आँफु आफैलाई छुचो मान्छे जस्तो लाग्छ । भन्नेले यसलाई जसरी पनि परिभाषित गर्न सक्छन । देशको बारेमा बढी गन्थन गर्दा "हो बाहिर बसेर खोक्न सजिलो छ, यहा बसेर हेर अनि थाहा पाउँछौ“ भन्ने जायज ताना सुन्न पाइन्छ , हुन त नबसेको होइन त्यो ठाउँमा, धित मरुन्जेल बसेको हो । त्यसैले पनि नबोलिकन चुपचाप बसिन्छ, त्यहि भएरै होला दौतरीबाट धेरै समय गायब भएको पनि ।

तर जति जे भए पनि मनले मान्दैन, एउटा नेपाली गित जस्तै "यो मन त मेर नेपालि नै हो .........!"
विदेशमा हुर्के बढेको भए त याद आउँदैनथ्यो होला तर त्यहि कै धुलो माटोमा हुर्केको हो । त्यसैले बेला बेलामा कन्सिरि तातिरहन्छ । तर नगर्नेले गरेन भनेर होइन गर्छु भन्नेले नगर्दा र सुधार्छु भन्नेले बिगार्दा भित्री मनलाई नै चोट पुग्दो रहेछ ।

अझ नेपालमा बसेर गर्ने, नगर्ने र विगार्नेहरुको कुराले पनि होइन। विदेशमा वसेर आंफुलाई नेपाल भन्दा सय गुणा अगाडि देख्नेहरुलाई वर्सौंसम्म नआएको देशको याद जब उमेर ढल्किन थाले पछि र गोजी पनि भरिन थाले पछि आऊंछ र विदेशमा जति नै चिल्ला कार चढे पनि र जति नै कमाए पनि चिन्ने कोहि हुदैन अनि पुन बाल्यकालमा खेलेको धुलोमा फेरि "सिंचाइ गर्छु" भन्ने झ्याली पिटेर "पिशाब फेर्न" पुग्छन तब मनले मान्दैन नबोलिकन बस्नलाई ।

आज भर्खर एउटा समाचार पढेको थिएँ, प्रधानमन्त्रिको नर्वे र फिनल्याण्ड भ्रमण (जुन स्थगित भइसक्यो) को लागि नेपालका तर्फबाट त्यस देशका राजदुतलाई सामेल गराइएको रहेनछ । राजदुत भनेको विदेशमा कुनै पनि देशको प्रतिनिधि सरकार हो । जसरि देशमा सरकारको महत्व हुन्छ त्यसरी नै विदेशमा राजदुतको महत्व हुन्छ, विदेशिहरुले स्थायी सरकारको रुपमा राजदुतलाई लिन्छन । मेरो भनाइ राजदुत को हो संग सरोकार छैन, चोर र बदमाश नै भए पनि कुनै पनि देशको राजदुत उसको पद नखोसिदासम्म सम्बन्धित देशमा त्यो देशको आधिकारिक व्यक्ति हो । प्रधानमन्त्री पत्नि समेत सामेल भ्रमणमा सम्वन्धित देशका राजदुतलाई "मितव्ययिता" का कारण समावेश नगरिएको रे ! प्रधानमन्त्री पत्नीको भ्रमणलाई मैले अस्वाभाविक मान्दिन, ठिक छ, राष्ट्र प्रमुखले आफ्नो पत्निलाई लिएर जानु कुटनीतिक र भावनात्मक दुवै कुराले जायज मान्न सकिन्छ ।

अचम्म लागेको कुरा त के हो भने नेपाल सरकारको भ्रमण टोलीमा गैर आवासिय नेपाली संघका अध्यक्ष नेपाली मुलका रसियन (Belarus) व्यापारि (?) उपेन्द्र महतोको नाम । सरकार प्रमुखको भ्रमण संगै देशका प्रतिष्ठित व्यापारीहरु पनि सामेल हुनु राष्ट्रकै लागि फाइदाजनक हो । त्यसमा उद्योग वाणिज्य महासंघका कुस कुमार जोशी छन, जुन जायज हो । तर के विदेशमा बसेर व्यापार गर्ने र यदा कदा मौकामा चौका हान्न देश आउने हरु मितव्ययी बनाउन राजदुत हटाएर जान लागेको त्यस टोलीमा सामेल हुन योग्य छन? के विषयमा व्यापार हुदैछ नर्वे संग ? जलविद्युतको सहयोग लागि हो भने विद्युत प्राधिकरणमा मान्छे छैनन र सानिमा हाइड्रोको "विदेशी" मालिकलाई लिएर जानु पर्यो ? माओबादीलाई पनि के महतोले राजालाई र पार्टीहरुलाई जस्तै खल्तिमा हालिसके ?

उनले नेपालका लागि कति गुन लगाएका छन त जापानले बनाइदिएको काठमाडौको नया वसपार्क हेरे पुग्छ, युरोपियन स्तरको बनाउंछु भनेर काठमाडौ महानगरसंग लिएको गोंगबु बसपार्कबाट कति कुम्ल्याइसके तर हविगत के छ हेर्दा थाहा हुन्छ ।

त्यसैले म अचम्ममा छु , १५ वर्ष अगाडिको देश र अहिलेको देशको चाल देखेर । जहां परिवर्तनको नाममा च्यात्ने, भत्काउने, बिगार्ने, खाने काम मात्र चालु छ अगाडि जाने सबै बाटाहरु बन्द छन ।

पर्दा पछाडिबाट देश "खेलाउनेहरु" उहि छन, देश हाक्छु भन्नेहरु फरक भए पनि । केलाई मान्ने हो परिवर्तन ? कुर्सीमा बस्ने परिवर्तित व्यक्तिको अनुहारहरुलाई ? के अझै पनि आश गरिरहनुहुन्छ देश परिवर्तन हुन्छ भनेर ?

हो मैले बुझेको पुरानो र नया नेपाल यहि हो , जहाँ देशलाई लुट्न देश भित्रका मात्र हैनन विदेश देखि नै "एन आर एन" को खोल भिरेर होस वा सुजाता जस्तो पासपोर्ट फ्याँकेर गइरहन्छन । अनि राजा देखि क्रमभंग गर्छु भन्नेहरु सम्म उनिहरुको पंजामा फसिरहन्छन । जहां परिवर्तन कुर्चि माथि बस्ने अनुहारको र तौलको हुन्छ देश उहि नै रहन्छ परिपाटि उहि नै रहन्छ अझ झन खस्केला । त्यसैले तन्त्र मन्त्र परिवर्तन हुदैमा केहि हुन्छ भनेर सोच्ने हाम्रो सोचाइलाई धिक्कार छ ।

मेरो बुझाइ यहि हो , गलत रहेछ भने कृपया सुधारिदिनुहोला, होइन भने देश बनाउन बन्दुक उठाउनै पर्छ भन्ने छैन , आवाज नै काफी छ, आउनुहोस विकृति र विसंगतिको विरुद्द खुलेर लडौं , देशकोलागि अरु नगरे पनि यति त गर्न सकिन्छ !


7 Comments:

प्रबिण थापा said...

धन्यवाद यथार्थ रुपमा लेख प्रस्तुत गर्नु भएकोमा। अ साच्चै तपाईंले भने झै केही गर्न नसकेपनी सही आवाज त उठाउन सकिन्छ।

पीजी said...

देर आए दुरुस्त आए, अति महत्वपुर्ण बुदाहरु उठाउनुभो!

"नगर्नेले गरेन भनेर होइन गर्छु भन्नेले नगर्दा र सुधार्छु भन्नेले बिगार्दा भित्री मनलाई नै चोट पुग्दो रहेछ"

"बाल्यकालमा खेलेको धुलोमा फेरि "सिंचाइ गर्छु" भन्ने झ्याली पिटेर "पिशाब फेर्न" पुग्छन "

"पर्दा पछाडिबाट देश "खेलाउनेहरु" उहि छन, देश हाक्छु भन्ने हरु फरक भए पनि"

"जहां परिवर्तन कुर्चि माथि बस्ने अनुहारको र तौलको हुन्छ देश उहि नै रहन्छ परिपाटि उहि नै रहन्छ"

"देश बनाउन बन्दुक उठाउनै पर्छ भन्ने छैन , आवाज नै काफी छ, आउनुहोस विकृति र विसंगतिको विरुद्द खुलेर लडौं"

जटिल तर वास्तविक कुराहरु छन, धन्यवाद । देशको लागि हाम्रो आवाज नै पनि काफि हुन सक्छ हो सुतेकालाई उठाउनै पर्छ, सुतेको बहाना गर्नेलाई ठटाउनै पर्छ ।

Anonymous said...

पान्डा जि को कमेन्ट मा मेरो समर्थन ।

Anonymous said...

Its unfortunate that all leaders of Nepal are being sold directly or indirectly.

Basanta said...

क्या चित्तबुझ्दो कुरा गर्नुभयो! हुनत आफू पनि बाहिरै बसेर बुरक्--बुरुक्-- उफ्रिनेमा परिन्छ:)

Anonymous said...

पान्डा जि ले सभार गर्नु भएको बुदा हरु मा मेरो पनि समर्थन छ। नेपाल जी ले ब्यक्त गर्नु भएको कुरा हरु ज्यादै नै मार्मिक र मननीय छन ।

Nepal! said...

प्रविणजी, पाण्डाजी, लुनाजी, बसन्तजी अनि हिमालपारीबाटजी सबैलाई धन्यबाद ।

बसन्तजी विदेशमा बसेर उफ्रिने कराउने काम भनेको केही राम्रो होस भन्ने हाम्रो चाहनाबाट निर्देशित स्वच्छ चिन्तन हो । हामी उफ्रिनै पर्छ कराउनै पर्छ ।

तर विदेशमा बसेर पनि देशलाई केहि योगदान वा आफ्नो "विशेषज्ञता" दिने भन्दा पनि मौकामा देश लुट्न खोज्ने प्रति मेरो आक्रोश हो । यस्तो प्रवृति कदापि स्विकार्य हुने छैन , त्यसको लागि हामी चनाखो भइरहनै पर्छ !

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !