September 27, 2008

हुन दिनुपर्छ सुन्दरी प्रतियोगिता

माओवादी जनयुद्दले  नेपालका गाउँघरमा त्रासदि मच्चाएका बेलाको  कुनै समयमा तेह्रथुमको म्याङ्लुङमा एउटी कलेज पढ्ने केटीले जिन्सको पाइण्ट लगाएको र कपाल काटेर छोटो पारेको आरोपमा ती छात्रालाई, त्यतिबेला जनताको यु्द्द लडेका भनिएका माओवादीको भातृसंगठन अखिल क्रान्तिकारीले कार्वाही गरेको थियो । बेलाबेलामा हाम्रा क्रान्तिकारी तथा राष्ट्रवादी समूहहरूबाट यो र यस्तै खालका घटना देशव्यापी रूपमा घटाउने र चर्चामा आएर सेलाउने गरकै हुन् त्यतिबेला । यस घटनामा कारवाही स्वरूप ती अभागी वालाको  कपाल पूर्ण मुण्डन गरिएको  थियो र उनको जिन्सको पाइण्टलाई छिया छिया पारेर बेइज्जति गर्दै बजार घुमाइएको घटना समेत त्यतिबेला समाचारको विषय बनेको थियो । .........  तर समयको गति न हो ,क्रान्तिकारिताको यो स्वरूपमा अहिले आएर १८० डिग्रिको परिवर्तन आइसकेको छ , किनभने ब्वाइज कट काटेको कपाल र जिन्सको पाइण्ट लगाएर माओवादीकी एकजना शिर्षस्थ महिला मन्त्री हिसिला यमीले आफ्नो पद तथा गोपनियताको शपथ दुई तीन पटक ग्रहण गरिसक्नु भएको छ। त्यस्तै पम्फा भूसालले पनि गरिन् क्यारे  । त्यसकारण, मन्त्राणी स्वयंले औपचारिक अनुमोदन गरिदिएको त्यो पहिरन र आवरण अब विवादको वस्तु नरहेको हुनसक्छ ।


तर नया नेपालमा नेपाल सुन्दरी ( मिस नेपाल ) प्रतियोगिता  हुन दिने कि नदिने कुरा सर्वथा विवादमा रहिआएको छ र हुन नदिने भन्ने पक्षका हर्ताकर्ता माओवादीहरू सत्तामा पुगेपछि भने मिस नेपालका आयोजकहरूको जागिर र जाँगर दुवै झन निरिह बन्न पुगेको छ । सुनिएको छ हिडन ट्रेजर नेपाल भन्ने संस्थाले आयोजना गर्ने मिस नेपाल प्रतियोगिता हालैका मितिमा आइपुग्दा  हुनबाट छैटौँ पटक रोकिएको छ । यो प्रतियोगिता हुन दिने र नदिने पक्षका आ-आफ्ना तर्कहरू पक्कै छन् । यसको विरोधमा न्वारानदेखिको बल खर्चिनेहरूका अनुसार यस्तो प्रतियोगिताले महिलाहरूको मानमर्दन गर्छ र महिला अस्मिताको बिरूद्द उनीहरूको बजारीकरण गर्दै अवमूल्यन गर्छ । अनि सञ्चालकहरूले प्रतियोगिताको नाममा सुन्दरी कन्याहरूलाई गर्नु नगर्नु गरेर लाभ लिन पनि सक्छन् र यसले समग्र नारी अस्तित्वको बजारमा लिलामी गर्छ । अत: महिला अस्मिता बिरूद्द गरिने यस्तो पूँजिवादी कर्तूतबाट जोगाउन , मिस नेपाल जस्ता प्रतियोगिता सञ्चालन रोक्नुपर्छ ।

उता सुन्दरी प्रतियोगिता हुनुपर्छ भन्नेहरूको पनि त्यति बडेमानको माग केही छैन । संसारभरि लगभग ( उत्तर कोरिया र मुसलमान मुलुकको भने थाहा भएन ) जतासुकै हुने र गरिने यस्तो प्रतियोगिता नेपालमा मात्र रोक लगाएर केही राम्रो हुने हैन भन्ने उनीहरूको भनाइमा असहमत हुनुपर्ने कुरा पनि केही छैन । यसका पक्षधरहरूका अनुसार सुन्दरता नारीहरूको पहिलो सम्पत्ति हो , र बाह्य र आन्तरिक सुन्दरताको प्रष्फुटन र प्रतिष्पर्धामा भाग लिने अवसरबाट बञ्चित गर्ने कुनै पनि कार्य अलोकतान्त्रिक त हुँदै हो , यसले महिलाको न्यूनतम् मानव अधिकार माथि पनि धावा बोल्छ भन्ने कुरा पनि साँचो नै ठहर्छ । अरू प्रतिस्पर्धाहरू जस्तै उमेर पुगेका सुन्दरीहरू तँ भन्दा म के कम राम्री छु ? भन्ने खालको प्रतिस्पर्धामा लड्न चाहन्छन् भने , सरकारको टाउको दुख्नु पर्ने कुनै कारण हुनुपर्ने केही देखिन्न ।

समग्र देश हिंसाग्रस्त छ , मुलुकभरि अव्यवस्था अनि राज्य र दण्डविहीनताको जगजगी मच्चिएको छ  । मान्छेको बाँच्न पाउने अधिकार , निर्भय रहेर आफ्नो दु:खसुख गरी परिवारसंग रहन पाउने अधिकार, आधारभुत सेवा ,सुविधा र वस्तु हासिल गर्न पाउने अधिकार, शिक्षा , स्वास्थ्यका अधिकार कुनै पनि कुरा देशमा अस्तित्वमा देखिन्नन् तर राज्य भने आफ्नो उपस्थिति दर्शाउन , केही चर्चित मुद्दामा आफ्नो संलग्नता देखाउन लागेको देखिन्छ ।

हुनत सुन्दरी प्रतियोगिता हुन दिँदा वा नदिँदा , नेपालीको भाग्यमा कुनै कायापलट हुने पनि हैन र यसले हाम्रो नियतिमा त्यति ठूलो तात्विक अन्तर ल्याउने पनि हैन , तैपनि नारीहरूले आँफुले सुन्दरी प्रतियोगितामा भाग लिएर , जितेर आँफुले गौरव हासिल गरेको अनुभव गर्न चाहन्छन् भने त्यो उनीहरूको मानव अधिकार हो र त्यसको रक्षा राज्यले गरिदिनु पर्छ । माओवादी राजनीतिको आदर्श मानिने कम्युनिष्ट मुलुक चीनले समेत सन् २००३, २००४, २००५ र २००७ मा  मिस वर्ल्ड  प्रतियोगिताको आयोजना आँफै गरेको छ । आधुनि विश्वमा सबैभन्दा बढी पट यो सुन्दरी प्रतियोगिताको आयोजक  कुनै पूँजिवादी मुलक नभएर कम्युनिष्ट मुलुक चीन रहेको कुरा  पढेका र देखेका जो कोहीले बुझ्न नसकेको पहेली के हो भने यो सुन्दरी प्रतियोगिता महिला अस्मिताको बिरुद्द नै हो  कि नेपालमा अहिलेका  सत्तापक्षकाहरूको राजनैतिक स्टण्ट मात्र ?  बुझ्न सकिएको छैन ।  सुन्दरी प्रतियोगिता हुन दिएर  हामीलाई हुनुपर्ने घाटा केही छैन, भयो भने थोर बहुत फाइदा नै होला । अत: कसैको राजनैतिक अडानको स्वार्थमा यो प्रतियोगिताको भविष्य जोडिनु पर्ने केही कारण देखिन्न । त्यसैले हुन दिनुपर्छ सुन्दरी प्रतियोगिता, कसैको केही खोसिने वाला छैन यसो गर्दा , इच्छुकहरूले भाग लिन्छन् त्यत्ति हो । बरू यो प्रतियोगिता ठीक हैन भनेर बिरोध गर्ने अर्को महिला समूह भएमा, तिनलाई पनि टुँडिखेलमा बिरोधसभा राख्ने अवसर दिँदा हुन्छ, भिडन्त टार्नु पर्‍यो त्यत्ति हो । तर, राजनीति नगर्ने हो भने कसैलाई बिरोध गर्न जानु पर्ने दरकार पनि हुन्न ।


3 Comments:

ठरकि दादा said...

हामी अझ स्वतन्त्र भैसकेका छैनौं, सम्पूर्ण थिचो-मिचो बाट उन्मुक्ति मिलेर 'गणतन्त्र' बनेको देशमा सुन्दरी प्रतियोगिता पनि गर्न नमिल्ने रे । सुन्दै हाँस उठने कुरा ।

दवाव मुलक कुनै पनि कुरा गलत हुन्छ । कसैलाई चित्त बुझ्दैन भने आफू भाग नलिनु र कसैलाई जबरजस्ती भाग लिन पनि नलगाईयोस बस्।

जिन्स पाईण्ट लगाएर सभासद बन्न हुने देशमा स्कर्ट लगाएर क्याट वाक चाहि गर्न नहुने रे हा हा हा हा हा ...

Anonymous said...

तपाईको र ठरकि दादाको पनि कुरा चित्त बुझ्यो । सुन्दरी प्रतियोगिता त गर्न नपाईने देशमा अरु स्वतन्त्रताको कुरा के गर्नु ?
फेरि यो जनवादि गणतन्त्रमा गर्न मिल्ने र गणतन्त्रमा चाहि गर्न नमिल्ने किन रहेछ त्यो पनि बुझी नसक्नु छ ।

Anonymous said...

एकातिर खुला 'लाल बत्ती बजार' को माग शुरु भैसकेको बेलामा सुन्दरी प्रतियोगितामा समेत बन्देज लगाउनुको कुनै अर्थ रहँदैन। हो कसैलाई मन पर्दैन भने भाग नलिने र नहेर्ने अधिकार भने सबैलाई छ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !