September 14, 2008

पितृपक्ष ( सोह्रश्राद्द तिथी २०६५ । २००८) बारे जानकारी )

-एकलव्य

हिन्दू धर्मावलम्बी नेपालीहरूले बडादशैँको शुरुवात हुने  घटस्थापनाको दिन भन्दा अघिको आश्विन महिनाको कृष्णपक्षका पन्ध्र दिनलाई पितृपक्षका रूपमा मान्ने चलन छ । आमा बाबु नभएका वा गुमाइसकेका छोराछोरीले मातृ-पितृ भक्ति दर्शाउन, यो पक्षका तिथिहरूमा माछा-मासु र अशुद्द मानिएका अन्न र खाद्यकुराहरूको सेवन तथा, अशुद्द मानिने अन्य कर्महरूबाट समेत पूर्णत: अलग रहेर बस्नु पर्छ भन्ने विश्वास छ । जुनसुकै  साल र महिनाका दिन हरूमा स्वर्गे भएका भए पनि , पितृ ( मातृसहित) हरू देहान्त  हुनुभएका तत् तत् तिथीहरूमा यथा विधि पार्वण श्राद्द गरेर पिण्डदान र तर्पण गरी , हामीले हाम्रा स्वर्गीय माता पिता र अन्य वरिष्ठ पितृहरू प्रति समेत श्रद्दा- भक्ति प्रकट गर्न सक्छौँ । आमा र बुबा दुवै गुमाएका छोराहरूले भने पिताको तिथिमा  नै एउटै श्राद्द गरी दुवै आत्मालाई एउटै श्राद्द पूजा मार्फत तर्पण वा पिण्डदान गर्न सकिन्छ ।

घरबाट बाहिर परदेशमा रहेकाले भने , स्वदेशमा  रहेका आफन्तले श्राद्दकर्म गर्ने हुँदा एकछाके ( श्राद्द भन्दा अघिल्लो दिन )  र श्राद्द पर्ने तिथिका दिन माता-पिताको सम्झनासहित शुद्द भोजन र  कर्ममा रही गरीब गुरुवालाई भोजन वा सिदादान गरी आफ्नो पितृकर्तव्य पूरा गर्न सक्छन् ।

 यो वर्ष सोह्रश्राद्दको रुपमा चिनिने यो पितृपक्षको आरम्भ भोलि भदौ २९ गते तदनुसार  सेप्टेम्बर १५ तारिखबाट हुने भए पनि पूर्णिमा तथा प्रतिपदा तिथिमा श्राद्द गर्नेहरूका लागि भने  आज २८ गते वा १४ सेप्टेम्बरबाट ‘एकछाके’ गरी श्राद्दारम्भ हुनेछ । यसरी बीचमा  तिथीहरूको घटबढ हुँदै यस वर्षको पितृपक्षको अन्त्य असोज १३ गते अथवा सेप्टेम्बर २९ अमावस्य ( औँसी) तिथिमा हुनेछ । बीचका तिथिहरूमा रजस्वाला, जूठो वा सूतकले गर्दा श्राद्द हुने नभएमा रोकिएको थिथिको श्राद्द पनि औँसीका दिनमा गर्न सकिने शास्त्रीय प्रावधान छ । यसै गरी यस वर्षको घटस्थापना सेप्टेम्बर ३० तारिख परेको जानकारी दिन चाहन्छु। 



3 Comments:

ठरकि दादा said...

केहि समय अगि सम्म ब्लग भनेको खालि मन नपरेको मान्छेलाई गालि गर्ने र मनको 'भडास' निकाल्ने साधन हो भन्ने जस्तो वातावरण थियो नेपाली ब्लग जगतमा।

तर ब्लग मार्फत यसरी धर्म,संस्कृति र जानकारि पनि प्रवाह गर्न सकिन्छ र ब्लगको आयामलाई संकुचीत गर्न हुदैन भन्ने राम्रो संदेश दिएको छ तपाईको यो पोष्टले ।

जानकारी र ब्लगलाई दिनु भएको विविधताको लागी धन्यवाद् ।

Anonymous said...

Nice information. Dashai is coming soon!

Aakar said...

यस्ता जानकारीहरु बेला-बेला मा दिए राम्रो नै हुन्छ ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !