June 27, 2008

विडम्बना-२

प्रयोगसिद्द विज्ञानका असफलताका कल्मषहरू बोकेर
भोक, रोग, हिंसा र आह्रिसले अंकूरित भाष्य घोकेर
एक धोक्रो रहर घिसार्दै मनगढन्ते गन्धे डहरमा
हिँडेको छु , नशालु मादकताको अनौठो झोल धोकेर।

कसैले मानोस् नमानोस् म नै सत्य हुँ, मन्त्र हुँ
कसैले ठानोस् नठानोस्, म नै सर्वोत्कृष्ट तन्त्र हुँ
म स्वतन्त्रता हुँ , म बन्देज हुँ अनि परिबन्द हुँ
म बिनास हुँ , संहार हुँ अनि आफ्नैको आफन्त हुँ।

म कानून, नियम र तिम्रो जीवनको परिभाषा हुँ
सत्य , असत्य, निर्क्योलको अकाट्य आदेशक हुँ
कानुन,, वकिल, जज साहेब, जल्लाद र डोरी हुँ
म सर्वभक्षी सन्त्रासको संबाहक बाबा अघोरी हुँ।

म परिभाषा हुँ, को असल अनि कमसल को?
म निर्णायक हुँ, विज्ञान को औ मिथक को ?
म शासन, प्रशासन र अनुशासन अनि दुस्सासन
म आधुनिक ब्रम्हाजीको वाक्य अनि संभाषण।

यसर्थ,

शब्दहरू, तिमीहरू मेरो खटनमा चल्नुपर्छ
आवाजहरू, मेरो आदेशले मूक वा बोल्नु पर्छ्
नियमहरू, मेरो फर्मानलाई सकारात्मक पढ्ने गर
जीवन, यो शास्वत सत्यलाई स्विकार्दै बढ्ने गर ! -सन्नाटा


1 Comments:

ठरकी दादा said...

वाह ! क्या जोडदार काव्य गयो ।

मैले थाहा पाए अनुशार तपाईले सायद पहिलोपल्ट दौतरीमा कविता राख्‍दै हुनुहुन्छ । तर गजब सान्दर्भिक र रोचक ढंगले तपाइले कलियुगको 'गिता' लेख्‍नु भएको छ । साँच्चै वजनदार छ । जदौ !!

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !