December 4, 2007

कामरेडको बौखलाहटमा बन्धक बनेको देश

'राष्ट्रवादीसहितको एकता आवश्यक'
कान्तिपुर संवाददाता
काठमाडौं, मंसिर १८ - माओवादी अध्यक्ष प्रचण्डले राजनीतिक गतिरोध टुंग्याउन संसद्वादी, आफ्नो पार्टी र 'राजाको वरपर रहेका राष्ट्रवादी' बीच नया“ एकता गर्नुपर्ने बताएका छन् -------------------------

डिसेम्बर ५ तारिख २००७ का दिन कान्तिपुरमा प्रकाशित माथिको समाचारले कसैको ध्यान खिच्न सफल भयो वा भएन मलाई थाहा छैन तर मलाई के विश्वास छ भने नेपाली राजनीतिमा थोरै पनि चासो राख्ने चेतनशिल नेपालीले यो अनुमान अवश्य गरिसकेको हुनुपर्छ कि माओवादी शान्तिपूर्ण राजनीतिमा प्रवेश गर्ने यो मोडमा आइपुग्दा पूर्ण रूपमा तिलमिलाएको छ, दिशाबिहीन छ र किंकर्तव्यबिमुढताको परिबन्दमा नराम्रो गरी रलमलिएको छ । यसका नेता नै प्रष्ट छैनन् कि उनीहरूले भन्ने गरेको यो महान क्रान्तिको गन्तव्य कता गएर रोकिने हो अनि यो महान क्रान्तिकारी सोचको गर्भमा कस्तो खालको मुसल हुर्किरहेको छ । एकातिर गणतन्त्र घोषणा नगरी अगाडि नबढ्ने अर्कोतिर राजावादीहरू अति राष्ट्रवादी भएकाले तिनीसंग सहकार्य पनि गर्दै अगाडि बढ्ने यस्तो उत्कृष्ट एवं महान सोच बोकेका अति महान कामरेड प्रचण्डका मुखराविन्दबाट प्रकट भएको यो नया उद्घोषले के गूल खिलाउने हो आगामी दिनमा बुझिनक्नु छ ! हरेक कुराको पछि दिइने अर्को पुनर्व्याख्या जस्तै , यो भनाइले पनि अवश्य धेरै अपेक्षा कामरेडबाट राखिरहनेछ स्यमुएल बेकेटको “वेटिङ फर गोडो” जस्तै ।


माथिको समाचारको पेटबोलिमा अरू पनि थुप्रै कुराहरू छन् । जस्तो कि कामरेड प्रचण्डले भनेका छन् “ १) ठूला मिडिया हाउसहरूले’ माओवादीको यो नीतिलाई सहयोग गर्दिनुपर्छ, २) गिरिजाले चुनाब गराउने भनेर ज्ञानेन्द्र शैलिको चुनाब चाहेका छन् , खासमा चुनाब केही पनि हैन ३) पत्रकारको भेषमा जासूस र सुराकीहरू छन् तिनलाई चिन्नु पर्छ ४) माओवादी स्वतन्त्र प्रेसलाई सम्मान गर्छ , तपाइँहरू डराउनु पर्दैन” ५) राजावादी पनि चुनाबमा जान पाउनुपर्छ आदि आदि । स्वतन्त्र प्रेसले आयोजना गरेको कार्यक्रममा प्रेस स्वतन्त्रताका पक्षमा कुरा गर्दिनु पर्ने तर आफ्नो आलोचना वा बिरोध गर्ने मिडिया हाउस र पत्रकार समेतको के बिजोग बनाइदिएका छौँ भनेर त्यो सन्देश पनि प्रवाहित गरेर थर्कमान पार्ने चुनौति प्रेस जगतलाई दिनै पर्ने अवस्थामा रहेका कामरेडका बोलीमा अन्तरनिहित यो बिरोधाभास देखिनु नौलो कुरा ठान्नै भएन । यसो त माओवादीले युद्द बिराम गरी शान्तिपूर्ण राजनीतितर्फ अगाडि बढ्न खोजेको गत डेढ वर्षका अवधिमा माओवादी पार्टी र यसका शिर्ष नेता कामरेड प्रचण्ड के भन्छा वा दावा गर्छन र उसका कार्यकर्ता र नेताहरू समेत के गरिरहन्छन् बुझ्न कुनै माथापच्चि गरिरहन पर्दैन । अनि यो दावा र व्यवहार बीचको परिहास कति ताज्जूब पार्ने खालको छ भनिरहन पनि पर्दैन । अहिले माओवादी का अण्टसण्ट कुराले मह जोडी र नेपाली हास्य कालकारहरूको बजार खोसिएको छ भन्नुमा कुनै अत्युक्ति छैन , किनभने जनतालाई जति दु:ख दिएका छन वाइसिएलले र माओवादीले, त्यति नै बेलाबखतका हास्य कृत्यले भरपूर मनोरञ्जन पनि दिएका छन जनतालाई यिनका नेताले । एउटै कुरा प्रष्ट छ यी बीचमा कि यिनीहरू कतै प्रष्ट छैनन् ।

राजावादी पनि चुनाबमा जान पाउनुपर्छ भन्ने कुरा ठीक छ । जान दिऊँ सबैलाई तर यसलाई जान दिने र उसलाई जान नदिने खटनपटन कामरेड र कामरेडको पार्टीले गर्ने अधिकार छ कि छैन लोकतन्त्रमा त्यो हेक्का राखौँ । केही वर्ष अघि अष्ट्रेलियालीले बेलायती रानीलाई राष्ट्रप्रमुख मानिरहने कि नमान्ने भन्ने बारेमा जनमत संग्रह गरे अनि क्यानडाको केबेक प्रान्तले क्यानडेली संघबाट छुट्टिएर स्वतन्त्र देश बन्ने कि नबन्ने बारेमा जनमतमा गएर परीक्षित बन्यो भने कतिपय युरोपेली राष्ट्रहरूले युरोपेली एकल मुद्रा चलाउने वा नचलाउने देखि अन्य कतिपय मुद्दामा जनमतमा गएर निर्नय लिएका उदाहरण हामी सामू छन् ।

नेपालमा हाल कायम रहेको कथित संसद कुनै जनमतले कायम भएको संसद पनि हैन र यसलाई जनताका निर्णयहरू आँफै जान्ने भएर लिन पाउने कुनै अधिकार छँदैछैन । यस्तोमा मुलुक , मुलुकको राजनैतिक एवं संवैधानिक व्यवस्था सम्बन्धी जुनसुकै निर्णय लिने अधिकार जनतालाई मात्र छ भन्ने कुरा सबैले बुझिदिए र तदनूसार व्यवहार गर्दिए नेपाली लोकतन्त्रको गाडि आफ्नै पटरीमा चल्न गाह्रो पर्दैनथ्यो । लोकतन्त्रको परिभाषा आँफूले चाहेको अर्थ‍मा अरूउपर थोपर्न चाहने जोरजुलुमवादी प्रवृत्तिमा आँफूहरू कहाँनेर उभिएका छौँ भन्ने स्व-मूल्यांकन गर्न नसक्ने किच्चडहरूले कुनै कुराको दावा गर्नु वा उपदेश पेल्नुले कुनै कुरामा तात्विक भिन्नता कहिल्यै देखापर्नेछैन । जबसम्म लोकतन्त्रको विश्वमान्य नियम र व्यवहारलाई आँफैले अपनाउन सकिन्न, कुरा गरेर कुरा कुरा कै दु:ख मात्र भइरहने हो , देश ठगिइरहन्छ मात्रै ।
अनि माओवादी सेनालाई नेपाली सेनामा एडजस्टमेण्ट नगरेसम्म हुँदैहुन्न भन्ने माओवादी नया अत्तोका बारेमा पनि यत्ति भन्नुपर्छ कि “कामरेड , यी तपाईँले दिक्षित पारेका ठिटा ठिटीहरूमा नेपाली सेना बन्ने कुनै गुण छँदैछैन ,बरू यिनलाई बेलैमा निशस्त्र पारेर चुनाबमा आफ्नो प्रचार प्रसार कार्यकर्ताका रूपमा प्रयोग गर्नुस, किनभने यी तपाईँकै लागि मर्न मार्न तयार बनाइएका त हुन नि ! कारण यिनीसंग एउटा पार्टीको कामगर्ने संकृण चरित्रमात्र छ राष्ट्रिय चरित्र पटक्कै छैन” ।

अत: बल र हतियारको दम्भ त्यागौँ र जनताको शरणमा जाऔँ । मनलागे जनताले शरण दिनेछन् । यो बौखलाहटको प्रलापबाट देश र जनतालई त्राण दिऔँ ।


4 Comments:

ठरकी दादा said...

"नेपालमा हाल कायम रहेको कथित संसद कुनै जनमतले कायम भएको संसद पनि हैन र यसलाई जनताका निर्णयहरू आँफै जान्ने भएर लिन पाउने कुनै अधिकार छँदैछैन"

शत प्रतिशत सत्य र अत्यन्त सान्दर्भिक । साथै तपाईले गर्नु भएको कामरेडको मनोदशाको चित्रण पनि पक्कै साँचो छ ।

जंगलीराजबाट निक्लेर सभ्यता र कानूनि राज्यको संरचनामा बस्न र आफ्नो अपूताली धान्न माओबादिलाई निक्कै धाउ-धाउ परेको छ।

मलाई लाग्छ बुध्दि नपलाएको हर्केलाई अचानक चिठ्ठा परेर धन प्राप्त भएपछि खर्च गर्न नजानेको जस्तै जंगलबाट सहर पसेपछि अपुतालिमा संसब र मन्त्रि पद समेत प्राप्त भएपछी माओबदिलाई सम्हालि नसक्नु भएको छ ।

Maverick said...

Nice piece Eklavya bro.. do keep writing...

rahulvai said...

अब यी जंगलीहरुको वास्तबिक मालिक को हुन् भन्ने घाम जति नै छर्लङ भैसक्दा पनि आफ्नो बिचार राख्दा अपशब्दले भरिएको टिप्पणी गर्ने महान कामरेडहरुको कमि रहेन छ।
एकलब्य जी, मैले चिनेको माओबादी तिनै हुन्, जो अहिले आफ्नो असली रुपको केही अंश मंचन गर्दैछन्। आज दरबार नजिक संग सहकार्य भन्ला, भोलि ज्ञानेन्द्र संगै गणतन्त्रको लागि सहकार्य गर्नु पर्छ भनेर अर्को पत्रकार सम्मेलन गर्न बेर छैन। राहुलभाइ को गफ ( एक जना मित्रले त्यस्तै भन्ने छ) भनेर हलुका न लिनु होला।

brilliantman71 said...

खै, अपशब्द नै प्रयोग गरेर तपाईंलाई गाली कसैले गरेजस्तो लाग्दैन बरु हजुर बाट "ठीमाह" शब्दको प्रयोग भएको छ। सम्बन्धीत थ्रेडमा गएर नाम किटेर आऔं न हजुर, यो आ-आफ्नो बिचार ब्यक्त गर्ने ठाउँ हो, कसै प्रति अनुराग बिराग किन राख्न पर्‍यो र?

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !